प्रधानमन्त्री केपी ओलीको कदमले राजनीति शक्ति सन्तुलनमाथि नै गम्भीर समस्या उत्पन्न गराएको छ। ओलीबाट सविधानमाथि आक्रमण भयो। उहाँबाट प्रतिगमन भयो।
अहिलेको लडाइँ प्रतिगमन र अग्रगमनबीचको हो। प्रधानमन्त्री प्रतिगमनका पक्षमा उभिनुभयो। हामी संविधान र लोकतन्त्रको पक्षमा आन्दोलनमा उत्रिएका छौं।
पूर्वएमाले एक ठाउँमा आउने हो भने हामी फेरि पुरानै ठाउँमा आइपुग्छौं, त्यो भनेको २०६३ पछाडि हो। पूर्वमाओवादी र पूर्वएमालेको विधिवत् विघटन २०७५ जेठमा ३ मा भइसकेको छ। दुवै पार्टीका अध्यक्षले त्यसमा हस्ताक्षर गरेका हुन्। अब त्यसमा फर्किन सक्ने अवस्था रहेन।
अर्को विषय, अहिले जबजको कुरा उठाइएको छ। जबकि दुई अध्यक्षबीच भएको पाँचबुदे सहमतिको पहिलो बुँदामै समाजवाद उन्मुख जनता जनवादका रूपमा अगाडि बढाइने भन्ने छ। अहिलेको नेकपाको आधिकारिकता नै यो हो। त्यो नमान्ने हो भने पार्टी एकता नै गलत हो भन्नुपर्याे।
त्यस्तै तत्कालीन माओवादीमाथि उति बेला भएको कुरो अहिले उठाइँदै छ। कति कुरा निरुपण भइसके कति बाँकी छन्। अहिले त्यस्ता विषय उठाउँदा त्यसले संविधान सकिन्छ। लोकतन्त्र धरापमा पर्छ। अब त्यतातर्फ जानु भनेको गलत हो।
ओली प्रतिगमन, संविधानविरोधी र गणतन्त्रविरोधी भएर निस्किएका छन्। हामी अहिले यो अवस्था सच्याउनतर्फ लागेका छौं।
संविधान रक्षाका लागि कानुनी राजनीतिक लगायतका लडाइँमा छौं। अहिले प्रदेशसभा विघटन गर्ने र संकटकाल लगाउने कुरा भइरहेका छन्। त्यसलाई ज्ञानेन्द्र शाहको शाही कदमकाे पुनरावृत्ति हुने संकेतका रूपमा बुझ्नुपर्छ।
हामीले अहिले जारी राखेको आन्दोलन नेकपाले मात्रै सुरु गरेको होइन, सबैको आन्दोलनका रूपमा बुझ्नुपर्छ। सबै शक्ति केन्द्रहरुलाई छिटो समावेश गरेर संयुक्त आन्दोलनमा जाने कुरा भइरहेको छ।
(दाहाल–नेपाल समूहको नेकपा केन्द्रीय संघर्ष समितिका प्रवक्ता एवं सहसयोजक भट्टराईले राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा व्यक्त विचारको सम्पादित अंश)