काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले देशव्यापी दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
अनेरास्ववियूका नेता सुदेश पराजुलीले आजदेखि २९ पुससम्म देशैभर विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगमनकारी र अलोकतान्त्रिक भन्दै सो कदमका विरुद्ध आन्दोलन अघि बढाइने पराजुलीकाे भनाइ छ।
आन्दोलनका कार्यक्रमअन्तर्गत सरकारका मन्त्रीहरूलाई कालो झण्डा प्रदर्शन गर्ने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा, उपत्यकामा लाल्टिन जुलुस, देशव्यापी प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका कार्यक्रम तय गरिएका छन्।
त्यस्तै सिडिओ कार्यालयमा ज्ञापन तथा धर्ना, असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम, बयलगाडा प्रदर्शन, प्रतिगमनको विरुद्ध सडक कविता, गीत, गजल कार्यक्रम, सडक नाटक, सडक आर्ट र प्ले कार्डसहित कार्टुन प्रदर्शन गरिने बताइएको छ।
दाहाल-नेपाल समूहको विद्यार्थी समूहले १ माघमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने जनाएको छ।