आइतबार, भदौ २१, २०८३

अब हेलिकप्टरबाटै खप्तड भ्रमण

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टर प्याकेजको व्यवस्था गरिएको छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

डोटी- सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टर प्याकेजको व्यवस्था गरिएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरबासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो।

सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरबासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए।

यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको संगमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए।

उनले भने, ‘कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौं, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकप्टरको प्याकेज गरेका छौं, उक्त प्याकेजले पर्यटकलाई निकै सहज हुनेछ।’

घरबासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट ३० हजार, डोटीको दिपायलबाट १० हजार र झिङ्ग्रानाबाट आठ हजार रूपैयाँमा खप्तड घुम्न पाइने भएको छ।

कुल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने बताइएको छ। 

सुदूरपश्चिममा खप्तड क्षेत्र भूस्वर्गका रूपमा चिनिँदै आएको छ। खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले जानकारी दिए।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ। जेठदेखि असार महिनासम्म विशाल फाँटमा रंगीचंगी फूलले यहाँको शोभा झनै बढाउने स्थानीवासी बताउँछन्। रासस

प्रकाशित: Jan 05, 2021| 05:03 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।