आइतबार, भदौ २१, २०८३

घरबासले फेरिँदै महिलाको जीवनशैली

घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुने यहाँका महिलाको जीवशैली घरबासका कारण परिवर्तन हुन थालेको छ।  
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

बागलुङ–  घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुने यहाँका महिलाको जीवशैली घरबासका कारण परिवर्तन हुन थालेको छ।  

घरधन्दा मात्रै गर्दा आर्थिक संकट भोग्दै आएका यहाँका महिला घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका हुन् । घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको घरबासका महिला सञ्चालक बताउँछन्। 

जिल्लामा सञ्चालित २८ सामुदायिक घरबासमा महिलाको सक्रियता बढी छ। सामाजिक कार्यमा सहभागी नभएका महिला घरबास सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटन विकासमा लाग्न थालेका छन्। 

सुरुमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिला आफ्नो दैनिकीसँगै घरबासमा आएको पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गरेका छन्। घरखर्च चलाउन श्रीमान् र परिवारका सदस्यको भर पर्ने महिला  घरबास सञ्चालनसँगै आर्थिकरूपमा समेत सबल बन्दै गएका छन्। 

सामाजिक रुपमा पनि गाउँलाई फरक पहिचान दिलाउन सफल भएको काठेखोला गाउँपालिका ३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक माया श्रीसले बताएन्। 

‘दुई वर्ष अघिबाट घरबास सञ्चालनमा ल्याए पनि एक वर्ष अघिबाट मात्रै पाहुना आउन थालेका छन्’, श्रीसले भनिन्, सुरुमा निकै अन्योल थियो, अहिले हामीमा समेत परिवर्तन ल्याउन थालेको छ, घरबासले आन्तरिक पर्यटक बढाउँदा आयआर्जनका साथै घरबास नजिकै रहेको पर्यटकीय स्थल बेलढुङ्गाको प्रचार  भएको छ।’ 

बेलढुंगामा आएका पर्यटकहरुले खान बस्नको राम्रो प्रबन्ध खोज्न थालेपछि महिलाको अगुवाइमा घरबास सञ्चालनमा ल्याएको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले बताए। 

जनजातिको बाहुल्य रहेको बागलुङका विभिन्न स्थानमा घरबास फस्टाउँदै गएका छन्। जिल्लाको पहिलो घरबासका रूपमा रहेको पर्यटकीय गाउँ भकुण्डेमा अहिले दुई घरबास छन्। 

यहाँका महिलाले घरायसी कामबाहेक घरबास सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको घरबासका सञ्चालक अप्सरा थापाले बताइन्। 

विसं २०६९ मा खुलेको बागलुङको पहिलो घरबास अथिति सत्कार घरबासले बागलुङमा घरबासको अवधारणा ल्याएको थियो। त्यसपछि घरबास सञ्चालन गर्ने अधिकांश महिलाको जीवनमा उल्लेख्य परिवर्तन आउन थालेको सञ्चालकहरुले नै बताउँदै आएका छन्। 

‘गाउँमा घरबास सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरुको दैनिकी परिवर्तन भएको छ, हाम्रो काम गर्ने शैली, बोलीचाली र लवाइखवाइसमेत सुधारिएको छ’, गलकोट नगरपालिका २ स्थित तोरीखोला सामुदायिक घरबासका सञ्चालक सीता पुनले भनिन्, ‘तीन वर्ष अघिदेखि सञ्चालनमा आएको घरबासमा कोरोनापछि पुनः पाहुना आउन थालेका छन्, बिस्तारै व्यावसायिकरूपमा लाग्दैछौँ, धेरै पाहुना आउँदा सबै गाउँका महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकताको भावनासमेत जाग्दै आएको छ।’

पुनका अनुसार शुरुमा बोल्नसमेत हिचकिचाउने बागलुङका महिलाहरुमा घरबास चलाउन थालेपछि आमूल परिवर्तन आउन थालेको छ। 

घरबासले समयको व्यवस्थापन, सामाजिक भावनासँगै आर्थिक उपार्जन तथा गाउँको प्रचारप्रसारको माध्यम बन्दै गएको अर्का सञ्चालक रजिकला श्रीसले बताइन्। सुरुमा बोल्नसमेत लजाउने धम्जाका महिला अहिले नाचगान गर्ने पाहुनालाई मनोरञ्जन दिन थालिसकेका छन्। 

दुई वर्ष अघिदेखि सञ्चालनमा आएको बेलढुङ्गा सामुदायिक घरबास १२ घरमा सञ्चालित छ। एकै रातमा ५० भन्दा बढी पाहुना राख्ने क्षमता घरबाससँग छ। घरबासमा आलुका विभिन्न परिकार, कोदोको सेल, कोदोको ढिँडो, लोकल खसी बोका, लोकल कुखुरा, सिन्की, भट्ट, मकैलगायतका घरबासमा मुख्य परिकार रहेको घरबास व्यवस्थापन समितिका सचिव गोपाल श्रीसले बताए।   

घरबास सञ्चालकहरुले पाहुनालाई सालैजो, यानीमाया, ठाडो भाकालगायतका विभिन्न गीत तथा नाचले स्वागतसमेत गर्दै आएका छन्। घरबास नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा भएको हुँदा यहाँ घुम्न आउने पर्यटकहरु सिधै घरबासमा आउने गरेका छन्। 

प्रकाशित: Jan 05, 2021| 02:51 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।