काठमाडौं- भारतीय पक्षले चलाएको गोली लागेर सोमबार साँझ कञ्चनपुरको दोधारा चाँदनीका एक युवक घाइते भएका छन्।
महाकाली नगरपालिका १ गडीगोठस्थित नेपाल भारत सीमा क्षेत्र नजिकै भारतीय पक्षले चलाएको गोली लागेर स्थानीय युवक घाइते भएका हुन्।
कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासनीले नेपालको सीमाभन्दा पाँच सय मिटरभित्र युवकको खुट्टामा गोलीको छर्रा लागेको बताए।
गढीगोठकै स्थानीय १८ वर्षीय नरेश लुहारको दायाँ खुट्टामा गोली लागेको हो।
‘भारतबाट नेपालतर्फ आउने क्रममा नेपालको सीमा भन्दा पाँचसय मिटरभित्र नै गोली लागेको भन्ने आएको छ,’ मरासनीले भने, ‘गोली कसले चलाएको हो र घटना के हो भन्नेबारे बुझ्ने काम भइरहेको छ।’
घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ।
‘एसएसबीले गोली चलाएको होइन भनेको छ वन रक्षकले चलाएको पनि हुन सक्छ, बुझ्ने काम भइरहेको,’ मरासनीले भने, ‘ भारतीय सुरक्षा निकायसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ।’