धनगढी- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रदेश सरकारले संघीय सरकारका मन्त्रीको सम्मान नगरेको गुनासो गरेका छन्।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आफूलाई आवश्यक सम्मान नदिएको गुनासो गरेका हुन्।
उनले सुदूरपश्चिम प्रदेश सरकारलाई लक्षित गर्दै संघ सरकारका मन्त्रीहरुमाथि राजनीतिक व्यवहार नगरेको आरोप लगाए।
संघ सरकारले चाँहि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई काठमाडौ पुग्दा गाडी र बसोबासको व्यवस्था गर्ने गरेको बताउँदै भनेल भने, ‘संघ सरकार नेपाली कांग्रेसकै भएको भए पनि मन्त्रीहरुको ख्याल गर्नुपर्दथ्यो। तर, आफ्नै पार्टीका मन्त्री हुँदा पनि वास्ता गरिएन।’
पत्रकार सम्मेलनमा उनले सरकार चुनावको तयारीमा जुटिसकेको बताएका छन्। मन्त्री भट्टले सरकार स्पष्टरुपमा मिति र तिथि तोकेर चुनावी तयारीमा लागेको बताए।
संविधानको व्याख्या सर्वोच्च अदालतले गर्ने बताउदै मन्त्री भट्टले सरकार चुनावको तयारीमा जुटिसकेको बताए। ‘हामी यसरी जनताका बीचमा आउनु पनि चुनावकै प्रचार हो।’ मन्त्री भट्टले भने, ‘वर्तमान सरकारले धेरै राम्रा काम गरेको छ त्यही कुरा बोकेर हामी चुनावमा जान्छौँ।’
मन्त्री भट्टले प्रदेश सरकार फेरबदलमा वर्तमान सरकार नलागेको बताए। उनले भने, ‘अर्को पक्षका गतिबिधि हेर्दैछौँ, उनीहरुका गतिबिधिअनुसार अबको स्थायी समितिले प्रदेश सरकारका बारेमा निर्णय लिनेछ।’