आइतबार, भदौ २१, २०८३

दाहाल–नेपाल समूहले संयुक्त संघर्षका लागि पहल गर्ने

स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्धको जारी संघर्षलाई हरहालतमा सफल बनाउन अन्य दलहरुसँग वार्ता गरी संयुक्त रुपमा अघि बढ्न पहल जारी राख्ने निर्णय गरेको हो।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– दाहाल–नेपाल समूहको नेकपाले प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमविरुद्ध संयुक्त रूपमा संघर्ष गर्न पहल जारी राख्ने निर्णय गरेको छ। 

उक्त समूहको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्धको जारी संघर्षलाई हरहालतमा सफल बनाउन अन्य दलहरुसँग वार्ता गरी संयुक्त रुपमा अघि बढ्न पहल जारी राख्ने निर्णय गरेको हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सकेसम्म यो मुद्दामा सहमत हुने सबै शक्तिलाई एकजुट भएर जाने र संघर्ष सफल बनाउन पहल भइरहेको छ।’

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दाहाल–नेपाल समूहको नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी भिन्नाभिन्नै रूपमा आन्दोलनरत छन्। 

यस्तै कलाकार, नागरिक समाज र पेसाकर्मी पनि सरकारी कदमविरुद्ध सडक आन्दोलनमा छन्। दाहाल–नेपाल समूहले मुद्दा मिल्ने जति सबै शक्तिलाई एकजुट बनाएर आन्दोलन जारी राख्ने निर्णय गरेको हो।

दाहाल–नेपाल समूहले ओली सरकारको असंवधानिक कदमविरुद्ध केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ। 

स्थायी कमिटी बैठकले पहिलो चरणको आन्दोलन उत्साहपूर्वक सफल भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको आन्दोलन थप उचाइमा पुर्‍याउने निर्णय गरेको छ। बैठकले केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय गठन गरेको छ। 

प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजक रहेको केन्द्रीय संघर्ष समितिको सहसंयोजकमा योगेश भट्टराई, पम्फा भुसाल र गणेश साह छन्।

बैठकले संगठनका विभिन्न काम गर्न र सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली गठन गरेको छ। 

टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, पम्फा भुसाल, जनार्दन शर्मा, घनश्याम भुसाल, वर्षमान पुन, वेदुराम भुसाल, भीम रावल, मातृका यादव, लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन्। 

गृहकार्य टोलीलाई प्रदेश, जिल्ला कमिटीका सबै पदाधिकारी तथा  संगठनको एकीकरणका बाँकी काम तत्काल पूरा गर्न सात दिनभित्र सुझाव दिने जिम्मेवारी तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

दोस्रो चरणको आन्दोलनमा पार्टीलाई पूर्ण रुपमा परिचालन गर्ने, प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म र प्रतिगमन परास्त नभएसम्म जारी राख्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। 

स्थायी कमिटीको आइतबार र सोमबार बसेको बैठकमा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए।

बैठकमा दुवै अध्यक्षले प्रतिनिधिसभा विघटनविरुद्ध असंवैधानिक जारी आन्दोलन सफल पार्न र पार्टी एवम् कम्युनिस्ट आन्दोलन विरोधी गुटवादलाई परास्त गर्न आग्रह गरेका थिए। प्रदेश र मोर्चाका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले रिपोर्टिङ गरेका थिए।

  

 

प्रकाशित: Jan 04, 2021| 12:58 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।