विराटनगर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले प्रतिनिधि सभा विघठन पछि त्यसको असर प्रदेशमा पनि देखिएको बताएकी छन्। उनले प्रदेश स्वायत्त भएकाले प्रदेशसभा विघठन गर्ने अधिकार पनि उसैसँग भएको बताइन्। उनले भनिन्, ‘प्रदेशसभाका आफ्नै क्षेत्राधिकार, ऐन र नियमावली छ।’
विराटनगरका सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विभाजित नभएको बताइन्। कुनै एउटा समूह मात्र अलग भएको उनको दाबी छ। अलग भएर गएको समूहसँग मिलेर जाने ठाउँ अझै रहेको भन्दै उनले भनिन्, ‘प्रधानमन्त्रीले सार्वजनिक रुपमै फर्किन आह्वान गर्नुभएको छ।’
प्रतिनिधिसभा कसैको इसारामा विघठन नभएको उनको दाबी छ। सरकारले लक्ष्यअनुसार काम गर्न नपाएको र अवरोध भएपछि ताजा जनादेशको निर्णय भएको मन्त्री मन्त्री तुम्बाहाङ्फेले बताइन्। उनले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताइन्। उनले वैशाखमा निर्वाचन गर्नेगरी काम शुरु भएको समेत बताइन्।
भारतीय पक्षले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई वर्तमान सरकारले नै नेपाली नक्सामा समेटेको र संविधान संशोधन मार्फत् निशान छाप अद्यावधिक गरेकोले यो ऐतिहासिक उपलब्धी भएको उनको जिकिर छ।
वर्तमान सरकार प्रतिनिधिसभा नरहेको अवस्थामा कामचलाउ भइसकेको पनि मन्त्री तुम्बाहाङफेले बताइन्। प्रधानमन्त्री नै संविधान अनुसार कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उनले बताइन्।
यद्यपि खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाङ्फेको जिकिर छ।