काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडित गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ।
आयोगले सोमबार विज्ञप्ति प्रकाशित गरी उनलाई न्याय प्राप्तिको हक सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
गंगामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी पछिल्लो पटक २०७७ पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा छिन्।
उनको स्वास्थ्य अवस्था कमजोर र गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले उक्त घटनाको अनुसन्धान गरी दोषीउपर फौज्दारी अभियोगमा कारबाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत्र २३ गते नेपाल सरकारलाई सिफारिस गरेको स्मरण गर्दछ।’
लामो समयदेखि किनारा नलागेको कृष्णप्रसादको हत्या प्रकरण जस्ता सशस्त्र द्वन्दकालीन मानव अधिकार हननका घटनाका सम्बन्धमा यथाशक्य छिटो छिनोफानो गर्न आयोगले आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यसबाट मात्रै व्यक्तिको न्यायप्राप्तिको अधिकार समयमै सुनिश्चित हुन सक्छ।’
आयोगले गंगामायाको जीवनरक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको स्मरण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अतः निज गंगामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न तथा यसअघि सरकारले गरेका प्रतिबद्धतासमेत पालना गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ।’
छोराको हत्यारालाई कारबाही माग गर्दै १२ औं अनशनको १४ औं दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो।
कुनै पनि औषधि समेत लिन अस्वीकार गरेकाले उनको स्वास्थ अवस्था जटिल बन्दै गएको छ।