काठमाडौं- पाटेबाघ अर्थात् रोयल बेंगल टाइगरको बासस्थान समथर मैदान हो। विज्ञहरुका अनुसार चुरे क्षेत्रभन्दा माथिको महाभारत पर्वत शृंखलामा बाघ बस्दैन।
सन् २०११ सम्म एक हजार मिटरभन्दा माथि नभेटिएको बाघ पछिल्ला केही महिना २५ सय मिटरमाथिको दुई स्थानमा देखिएका छन्।
सुदूरपश्चिम डडेल्धुराको भागेश्वर जैविक मार्गको दुई हजार ५०० मिटरमा २०७७ वैशाख १ गते पाटे बाघ भेटिएको थियो।
आठ महिनापछि इलामको सन्दकपुरको तीन हजार १६५ मिटर उचाइमा पनि पाटे बाघ भेटिएको पुष्टि भएको छ।
सन्दकपुरमा रेड पाण्डा (हाब्रे) को निगरानी गर्न राखिएका २० क्यामरामध्ये एउटामा कात्तिक २८ र मंसिर ६ मा बाघको फोटो कैद भएको थियो।
नेपालको पूर्वी क्षेत्रको यति उचाइमा बाघ देखिएको यो पहिलो घटना हो। पहाडी क्षेत्रमा पनि बाघ देखिन थालेपछि संरक्षणकर्मी उत्साहित भएका छन्।
सन् २००१ मा संरक्षण अनुसन्धानकर्मी प्रह्लाद योञ्जनले भुटानको थ्रुम्सिङला राष्ट्रिय निकुञ्जको दुई हजार ७६५ मिटरमा बाघ हिँडेको फोटो क्यामरा ट्र्याप विधिबाट लिएका थिए। यसलाई एक हजार मिटरमाथि बाघ भेटिएको पहिलो घटना मानिएको थियो।
भुटानमा जंगलको तराई–पहाडको शृंखला नखलबलिँदा बाघको वासस्थान यथावत् भएको उनको निष्कर्ष थियो।
बाघको प्रिय आहारा टाकिन नामक चौपायाका कारण सो उचाइमा बाघ भेटिएको हुन सक्ने अनुमान योञ्जनले गरेका थिए।
‘पाँच÷छ सय वर्षअघि पहाडी क्षेत्रमा पनि बाघ हुन्थे,’ जुलोजिकल सोसाइटी लन्डनको नेपालस्थित कार्यालयसँग सम्बद्ध संरक्षणकर्मी हेमसागर बराल भन्छन्, ‘पहाडी क्षेत्रको घना जंगल मासिँदै गएपछि बाघ जंगल भएको समथर क्षेत्रमा साँघुरिन पुग्यो।’
संरक्षण कार्यमा भएको प्रभावकारी कामले बाघको संख्या बढेको उनी बताउँछन्। यस्तै देशमा वन क्षेत्र बढेका कारण पनि बाघले क्षेत्र विस्तार गरी पहाड चढेको हुन सक्ने बरालको अनुमान छ।
‘पछिल्लो समय पानीको खोजीमा नदी किनारा हुँदै बाघ पहाड लाग्ने गरेको देखिन्छ,’ बराल भन्छन्, ‘बाघको वासस्थानमा आहारा सीमित हुँदा र पानीको स्रोत सुक्दै जाँदा बाघ आफ्नो क्षेत्रबाहिर निस्कने गरेको पाइन्छ।’
नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी २३५ बाघ छन्।
नेपाल प्रकृति संरक्षण कोषका जैविक विविधता केन्द्र प्रमुख बाबुराम लामिछाने बाघको बासस्थान क्षेत्रमा आहारा नहुँदा पनि बाघलाई समस्या परेको तर्क गर्छन्।
‘नेपालको पूर्वी क्षेत्रमा बाघ सम्बन्धी अध्ययन जहिले पनि सर्लाही, सप्तरी, महोत्तरी, सिन्धुली, उदयपुरलाई केन्द्रित गरियोे,’ लामिछाने भन्छन्, ‘ती क्षेत्रभन्दा पनि परको इलाममा बाघ देखिनुचाहिँ अलि आश्चर्यकै कुरा भयो। उचाइमा बाघ नबस्ने होइन। अब त्यता पनि अध्ययन केन्द्रित गरिनुपर्ने देखियो।’
उचाइका हिसाबले भुटानमा चार हजार मिटरमाथि तथा भारतमा ३५ सय मिटरमाथि बाघ बस्ने गरेको पाइएको छ।
बाघमा धनी नेपाल
नेपालमा बाघको संख्या उत्साहप्रद छ। प्रभावकारी संरक्षण अभियानले अरु वन्यजन्तुको संख्यासँगै बाघको संख्या पनि बढेको छ।
नेपालमा विगत १० वर्षमा पाटेबाघको संख्या १२१ बाट बढेर २३५ पुगेको छ।
संरक्षण तथा चोरी सिकारीमा भएको कमीले बाघको संख्या बढेको हो।
विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको संरक्षणमा चुनौती पनि थपिएको छ।
बाघले ओगोट्ने स्थान, उसलाई आवश्यक आहारा जीवजन्तुको उपलब्धता, खेल्ने घाँसे मैदान तथा खानेपानीको उचित व्यवस्थापन हुन नसके बाघ लोप हुन सक्छ।
एक सर्वेक्षणअनुसार १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति देखिएको तथा बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति देखिएको छ। संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ पाइन्छ।
बाघले जंगलमा आफ्नो क्षेत्र निर्धारण गरी उक्त क्षेत्रमा अर्को बाघलाई बस्न नदिई लखेट्छ। तसर्थ जंगलको क्षमताभन्दा बाघको संख्या धेरै भएमा बुढा, कमजोर र अर्ध–वयस्क बाघ जंगलबाहिर निस्कन्छन्। त्यस्ता बाघले घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्छन्।
केही वर्षयता चितवन निकुञ्जबाहिर निस्केका बाघमध्ये अधिकांश अर्ध–वयश्क बाघ छन्। सन् २०१० र अहिलेको बाघको संख्या लगभग बराबर हुनुले पनि चितवनमा बाघको संख्या उच्चतम भएको संकेत गर्छ।
‘बासस्थान सुधारको काम प्रभावकारी नहुँदा बाघलगायत अरु वन्यजन्तुको संख्या घट्न पनि सक्छ,’ संरक्षणविद् नवराज चापागाईं भन्छन्, ‘त्यसैले अब बाघ–मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्नुपर्ने तथा प्रभावकारी संरक्षण योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ।’
चापागाईंका अनुसार अहिले बाघ र अन्य ठूला प्रजातिका जनावरकोे बासस्थानमा फैलिएको माइकानिया माक्रान्थालगायतका मिचाहा झारको प्रकोप संरक्षणमा ठूलो चुनौती बनेको छ।
विश्वभर बाघको संख्या तीन हजार ८९० छ। बाघको उपलब्धताको हिसाबले नेपाल आठौं स्थानमा छ।
सन् २०१६ को तथ्यांकअनुसार बाघको संख्या सबैभन्दा बढी भारतमा दुई हजार २२६ र सबैभन्दा कम लाओसमा दुई छ।
यी मुलुकबाहेक इन्डोनेसिया, कम्बोडिया, चीन, थाइल्यान्ड, बंगलादेश, भुटान, भियतनाम, मलेसिया, म्यानमार र रुसमा पनि पाटेबाघ पाइन्छ।