संयुक्त राष्ट्रसंघीय मानवीय राहत कार्यका प्रमुख मार्क लोककले सन् २०२१ मा विश्वभर करिब २३ करोड मानिसलाई मानवीय सहायता र सुरक्षा आवश्यक पर्ने बताएका छन्।
उनका अनुसार यस वर्षभन्दा आउँदो वर्ष थप ४० प्रतिशत मानिसलाई मानवीय सहायता आवश्यक पर्नेछ। यसको मुख्य कारण कोरोना भाइरस महामारी रहेको उनले बताए।
उनले भने, ‘महामारीका बेला मानवीय सहायता आवश्यक पर्ने देशमा विश्वका सबैभन्दा प्रभावशाली पाँच मुलुक पनि पर्नेछन्। महामारीले कमजोर वा नाजुक अवस्थामा रहेका देशहरुमा झन् ठूलो समस्यामा पर्नेछन्।’
संयुक्त राष्ट्रसंघका अनुसार आगामी वर्ष ५६ देशले निकै कठोर अवस्थाको सामना गर्नेछन्। ती देशका लगभग १६ करोड मानिसलाई मानवीय सहायता र सुरक्षा उपलब्ध गराउने योजना राष्ट्रसंघको छ। यसका लागि ३५ अर्ब डलर खर्च हुने अनुमान छ।
राष्ट्रसंघका अनुसार यति बेला विश्वका साढे २३ करोड मानिस कोरोना महामारी, भोकमरी, युद्ध र जलवायु परिवर्तनका कारण प्रभावित छन्।
लोककले यस वर्ष मानवीय सहायताका लागि दाताहरुले १७ अर्ब डलर सहायता गरेको जानकारी दिए।
तथ्यांकअनुसार यो सहयोग ७० प्रतिशत मानिसमा पुगेको छ। मुख्य चिन्ता अफगानिस्तान, उत्तरपूर्वी नाइजेरिया, दक्षिण सुडान, डीआरसी कंगो र बुर्किना फासाको मानिसलाई कसरी अकाल मृत्युबाट जोगाउने भन्ने छ।
कोरोना महामारीका कारण लाखौं मानिसलाई गरिबीमा धकेलिदिएको छ। त्यसैले मानवीय सहायता मावश्यक पर्ने मानिसको संख्या पनि बढेको हो।
अकाल मृत्युबाट जोगाउन, गरिबीसँग जुध्न, बालबालिकालाई खोप सेवा उपलब्ध गराउन र विद्यालय पठाउन मानवीय सहायता राशि आवश्यक छ। -रोयटर्स