मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : मन्त्री छान्न दलहरु दौडधुपमा, ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

नेपाल समय बिहानी समाचार : मन्त्री छान्न दलहरु दौडधुपमा, ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्री, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई ५/५ मन्त्रीसहित १/१ राज्यमन्त्री दिने समझदारी भएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ।सत्तारुढ पाँचदलीय गठबन्धनमा रहेका दलहरूले मंगलबार आन्तरिक तयारी पूरा गरेर भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका हुन्।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरुसँग मन्त्री बन्नेहरुको नाम मागेका छन्। गठबन्धन दलहरूले सत्ता साझेदारीका विषयमा यसअघि नै आन्तरिक गृहकार्यमार्फत करिब सहमति जुटाइसकेका छन्। नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्री, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई ५/५ मन्त्रीसहित १/१ राज्यमन्त्री दिने समझदारी भएको छ। 

तालिबानबारे नेपाल– अफगानिस्तानको आन्तरिक मामिला

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबान शासन सुरु हुनु त्यहाँको आन्तरिक विषय भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई मंगलबार बिहान अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन्। सार्क सदस्य राष्ट्र अफगानिस्तानबारे नेपाल सरकारले आफ्नो धारणा राखेको यो पहिलो पटक हो। मन्त्री खड्काले अफगानिस्तान, लिबिया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए। आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए। यस्तै उनले विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको कोभिड–१९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पनि पहिलो प्राथमिकता रहेको बताए। 

बसको ठक्करबाट आमाछोराको ज्यान गयो

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ।  मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो। कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्। 

पद्मश्री केशव दाहाललाई र साधना सम्मान भक्तराजलाई 

२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’लाई प्रदान गरिने ट्विटमार्फत जानकारी दिएका हुन्। दाहालको किताब मोक्षभूमि दासहरूको मुक्तिका विषयमा केन्द्रित छ। त्यस्तै पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई दिइने भएको छ। भजनशिरोमणिका रूपमा चिनिने आचार्य लामो समयदेखि संगीत साधनामा तल्लीन छन् । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन–तीन लाख रुपैयाँ छ।  

देशभरका फिल्म हल  घटनास्थापनादेखि खुल्ने

घटस्थापनाको दिन अर्थात असोज २१ देखि देशभरका हल खुल्ने भएका छन्। अंग्रेजी फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ प्रदर्शन गर्दै देशभरका हल खुल्ने भएको हो। 

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्ने तयारी भएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए। उनका अनुसार अबको तीन महिना हलमा दुई नेपाली फिल्म एकै मितिमा रिलिज गर्न पाइने छैन। यसअघि उपत्यकाभित्रको हलहरु खोल्न पाइने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेका थिए। तर चलचित्र संघ नेपालभरको हल खोल्ने अनुमति नदिएको भन्दै पुनः बन्द गर्ने निर्णय गरेको थियो। 

मौसम गडबडी हुनुमा शक्तिशाली चक्रवातको असर 

असोज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई  असोज ९ गते बनेको ‘गुलाब’ नामक शक्तिशाली चक्रवातको असर हाल मौसममा देखिएको छ। 

सो चक्रवात असोज १० गते भारतको उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापीय क्षेत्रको रुपमा पश्चिम दिशातर्फ अगाडि बढिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसको अप्रत्यक्ष असरका कारण नेपालमा पनि आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद्हरुले बताएका छन्। तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भवमा भने न्यून रहेको मौसमविद्हरुले स्पष्ट पारेका छन्। 

मिथिलामा जितिया मनाइँदै 

सन्तानको दिर्घायुको कामना गर्दै मिथिला तथा थारु क्षेत्रमा मनाइने जितिया पर्वको सुरुवात असोज कृष्ण सप्तमीदेखि तीन दिनसम्म मनाइन्छ। संस्कृतिविद एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालका अनुसार यस पर्वमा चुरा दहीदेखि माछा र कोदोसम्म खाने चलन छ। यस पर्वमा ब्रत बस्दा अष्टमी तिथिभर थुकसम्म निल्नु नहुने र निलेमा व्रत भंग भएको मानिन्छ। 

राष्ट्रिय फुटबल टोली माल्दिभ्समा

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ।

माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ। प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा यही असोज १५ गते आयोजक माल्दिभ्सको सामना गर्नेछ।


प्रकाशित: Sep 28, 2021| 11:09 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।