काठमाडौं– सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संघीय सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय सरकारका कामको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको सचिवालयको बैठकमा नेता नेपालले भने, ‘पार्टी र सरकारमा गम्भीर समस्या देखिएको छ। समस्या समाधानका लागि ढिला गर्ने र लम्बाउने काम नगरौं।’
उनले सबैले आ–आफ्नो गल्तीकमजोरीहरु स्वीकार गरेर सच्चाउन तयार हुनुपर्ने बताए।
‘सबैलाई पार्टी, जनताप्रति उत्तरदाययी र जवाफदेही बनाऔं,’ उनले भने, ‘कार्यकर्ता र जनतामा व्यापक निराशा छ। उनीहरुमा आशाको सञ्चार गर्ने काम गरौं।’
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन लगाएका आरोपको एक–एक उत्तर दिने र आफूले पनि प्रस्ताव पेस गर्ने भन्दै समय माघेपछि १३ मंसिरमा बस्ने गरी बैठक सकिएको छ।
बैठकले मंसिर १८ गते पार्टी स्थायी कमिटी र २५ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ।