काठमाडौं- लामो रस्साकसीपछि नेकपा सचिवालय बैठक सुरु भएको छ।
आज वुधबार दिउँसो सवा एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्न पटक पटक आग्रह र ताकेता गरे पनि बैठक निर्धारित मितिमै सुरु भएको छ।
यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले मंसिर ३ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी मिति तय गरेको थियो । शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनसमेत पेश गरेका थिए।
प्रतिवेदनमा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको, ओलीकै कारण पार्टीमा समस्या आएको आरोप लगाइएको छ ।
उक्त प्रतिवेदनपछि तनावमा देखिएका ओली बैठक सार्न बुधबार बिहानसम्म पनि प्रयासरत थिए। यद्यपि बैठक नसर्ने अवस्था बनेपछि ओली पनि बैठकमा सहभागी भएका छन्।
कम्तिमा १ घण्टा भए पनि बैठकमा बस्ने र नेताहरुको कुरा सुन्ने पक्षमा ओली पुगेको स्रोतले बताएको छ।