जनकपुरधाम– श्रद्धालुहरू तराई मधेसमा मनाइने छठ पर्वको तयारीमा जुटेका छन्।
व्रतालुहरूले आज नुहाए खाने विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरू छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा छन्।
छठ पर्वमा अनिवार्य रूपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नारिवललगायतका फल पर्छन्।
अहिले फलफूल मण्डीमा केरा किन्न आउनेहरूको भीड बढेको छ। छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोेग हुने केरा किन्नेको जनकपुरधामका प्रमुख बजारहरूमा केही दिनयता भीड लागेको छ।
प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको बिक्री छठ पर्वको पूर्व सन्ध्यामा व्यापक वृद्धि भएको छ। यद्यपि अन्य वर्षहरूभन्दा महंगो मूल्यमा श्रद्धालुहरू केरा किन्न बाध्य भइरहेका छन्।
केही साता अगाडि ४० देखि ५० रुपैयाँप्रति दर्जन बिक्री हुने केरा छठ पर्वको पूर्व सन्ध्यामा मूल्य ७० देखि ८० रुपैयाँसम्म पुगेको छ।
मागको तुलनमा केराको आयात कम भएकोले पनि मूल्य महंगीएको जनकपुरधामस्थित फलफूल मण्डीका पूर्व महासचिव भूवनेश्वर पूर्वेले बताए।
‘जनकपुरमा अघिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो, यो वर्ष ६० ट्रक मात्रै आयात गरिएको छ’, पूर्वेले भने, ‘अघिल्लो वर्ष केरा मात्रै पाँच करोड मूल्य बराबरको आयात गरिएको थियो। जबकी यो वर्ष तीन करोडका मात्रै आयात भएको छ।’
जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढीलगायतका क्षेत्रबाट आयात गरिँदै आएको छ। जबकी यसवर्ष नवलपरासीको त्रिवेणीबाट केरा बढी मात्रामा आयात गरिएको छ।
भारतबाट करिब दुई करोड मूल्य बराबरको आयात गरिएको छ भने नवलपरासीबाट एक करोड रुपैयाँ बराबरको २१ ट्रक करोड छठ पर्वमा बिक्री गर्न आयात गरिएको जानकारी अर्का फलफूल व्यवसायी जागेश्वर साहले बताए।
‘भारतको केरा सस्तो भए पनि नेपाल भित्र्याउँदा भन्सार बढी तिर्नुृपर्ने भएकोले केराको मूल्य आकाशिएको छ’, केरा व्यवसायी साहले भने, ‘भन्सार शुल्क पहिला सात प्रतिशत मात्रै लाग्थ्यो तर अब भन्सार साढे १३ प्रतिशतसम्म पुगेको छ।’
भारतबाट मगाउँदा सस्तो दर भए पनि भन्सार शुल्क, ढुवानी खर्च र विषादी चेकजाँच समेतमा ढुवानी खर्च बढन जाँदा नेपालको केरा महंगो भए पनि दुवैको मूल्य बराबर हुन गएको उनको भनाइ छ।
छठका लागि केरा किन्न पुगेका भोगेन्द्र झाले पहिलेको तुलनामा छठ पर्व धेरै महंगिएको बताए ।
उनले भने, ‘पहिला तीन सय रुपैयाँको केराले पुग्थ्यो, तर यस वर्ष सात सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परेको छ।’