काठमाडौं- मंसिर लागेसँगै देशका अधिकांश भागमा चिसो बढेको छ भने हिमाली र उच्च पहाडी जिल्लामा हिमपात भएको छ ।
हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको छ ।
मुस्ताङको जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।
हिमपातसँगै ती बस्तीका खोला, पँधेरा र धारामा पानी जमेको मुस्ताङ प्रहरीले जनाएको छ । बरफ फुटाएर पानी खानु पर्ने अवस्थान बनेको स्थानीयले बताएका छन् ।
हिमपात भएसँगै सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ भने स्थानीयको जनजीवन नै प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा अझै तीन दिन हिमपातको सम्भावना छ ।
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने मौसमविद्हरुले बताएका छन् ।