मंगलबार, भदौ १६, २०८३

लकडाउनपछि अभिभावकले ध्यान नदिँदा बढ्यो बालविवाह 

कोरोना महामारी फैलिएसँगै मुलुक चार महिना पूर्ण रुपमा लकडाउन भयो।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

कैलाली- कोरोना महामारी फैलिएसँगै मुलुक चार महिना पूर्ण रुपमा लकडाउन भयो।

त्यसपछि पनि विभिन्न स्थानमा निषेधाज्ञादेखि लकडाउन भए, गरिए। अझै पनि धार्मिकस्थल, मनोरञ्जनस्थल, विद्यालय, कलेज खुल्न सकेका छैनन्। 

यसले गर्दा पनि बालबालिका, किशोर-किशोरी घुमघाम गर्न र पढ्नका लागि विद्यालय जान पाएका छैनन्। उनीहरु कतिपय घरमै बसेर अनलाइन क्लास लिइरहेका छन् भने, कतिपय मोबाइलगायतका 'ग्याजेट'मा भुल्ने गरेका छन्। 

मोबाइल, ल्यापटम, आइप्याडलगायतका ग्याजेटमार्फत इन्टरनेटको गलत प्रयोगले बालबालिका र किशोर–किशोरी गलत बाटोमा पुगिरहेको कुरामा अभिभावकले ध्यान वा समय दिन नसक्दा यसले उनीहरुलाई अप्ठेरो अवस्थामा पुर्याउन थालेको छ। 

कैलालीको जानकी गाउँपालिका ३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि परिवारमा चिन्ता छायो। 

परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटाएनन्। छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन्। छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनेर सन्देश पढाए। 

‘म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्,’ बालिकाकी आमा दिव्या शर्माले भनिन्, ‘मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन्। इज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने।’

लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ। ‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ’, दिव्याले भनिन्, ‘त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ।’

कोरोना महामारीका कारण अधिकांश विद्यालय गएको चैतदेखि नै अहिले पनि बन्द छन्। केही विद्यालयले अनलाइन कक्षा सुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन्। यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्यांक छ।

कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभुवन माविका शिक्षक आशा कठरिया बालविवाह बढिरहेको बताउँछन्। 

‘लकडाउनपछि बालविवाह बढेको छ। बालविवाह गरेका धेरै किशोरी गर्भवती भएकाले उनीहरुको पढाइमा बाधा पुग्छ’, कठरिया भन्छन्, ‘हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन्।’ 

गत चैतबाट विद्यालय बन्द भएपछि कम उमेरमा विवाह गर्ने विद्यार्थी अझ बढेको हुनसक्ने चिन्ता उनलाई छ। ‘हामीले विद्यालयको कक्षामा बालविवाहबारे धेरै छलफल गर्छौँ, बालविवाहका असरबारे सचेत गराइन्छ’, कठरिया भन्छन्, ‘तर पनि बालविवाह रोक्न सकिएको छैन।’

अभिभावक रामफल चौधरी अभिभावककै कमजोरीका कारण पनि उमेर नपुग्दै विवाह बढिरहेको बताउछन्। ‘बालविवाह गरेका जोडीलाई समाजले स्वीकार गरिरहेको छ। छोराले गरिहाल्यो वा छोरी गइहाली भनेर समाजले स्वीकारेपछि उजुरी पर्दैन’, रामफल भन्छन्, ‘गरिबीका कारण पनि बालविवाह रोक्न सकिएको छैन। छोरी जवान भए जिम्मेवारी उठाउन डराएर विवाह गरिदिने अभिभावक पनि छन्।’

नेपाल प्रहरीका अनुसार पोहोरभन्दा यस वर्ष बालविवाह दोब्बर बढेको छ। पोहोर आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने यस वर्षको पहिलो तीन महिनामा २६ वटा भएको छ। 

सामान्यतः बालविवाहको उजुरी नआउने हुनाले यो सङ्ख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ। कैलाली जिल्लामा अघिल्ला दुई वर्ष एक–एकवटा बालविवाहको उजुरी दर्ता भएकामा यस वर्षको तीन महिनामा दुई घटना दर्ता भएका छन्। 

इलाका प्रहरी कार्यालय टीकापुरले यस वर्षको तीन महिनामा बालविवाहसम्बन्धी एउटा मुद्दा चलाइसकेको छ । 

‘एउटा विवाहमण्डपमै गएर रोकेको र तीन बालबालिकालाई सम्झाएर अभिभावकको जिम्मा लगाएका छौँ। यसले पनि बालविवाह दोब्बरले बढेको देखाउँछ’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने भन्छन्, ‘बालविवाह उजुरी हामीसम्म पुग्दैनन्, हामीले थाहा पाएर गए पनि अभिभावकले उमेर पुगिसक्यो भनेर झुक्याउने चलन अहिले पनि छ।’

बालविवाहलाई समाजले परम्पराका नाममा स्वीकारिरहेको देखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउँछन्।  प्रहरीकै कुरालाई आधार मान्ने हो भने पनि उमेर नपुग्दै हुने विवाहलाई समाजले मान्यता दिइरहेको देखिएको बालकल्याण संघका नयनतारा श्रेष्ठको भनाइ छ।  

प्रकाशित: Nov 17, 2020| 04:19 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।