काठमाडौं– काठमाडौंको कुलेश्वरबाट प्रहरीले सात जुवाडेलाई पक्राउ गरेको छ।
भाइटीकाको बेला अवैध जुवातास लेखिरहेको भन्ने गोप्पे सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।
महानगरीय प्रहरी वृत्तका अनुसार कुलेश्वर घर भएका ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवा खालबाट दुई लाख ३८ हजार ८५० नगद सात लाख ९४ हजार ८७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेक ११ थान र तास १ बुक बरामद गरिएको हो।
जुवाखालबाट पक्राउ पर्नेमा कुलेश्वर बस्ने बर्ष ४४ को शिव श्रेष्ठ, काभ्रे चौरी देउराली गाउँपालिका ६ घर भई कुलेश्वर बस्ने बर्ष ४४ को यादव चौलागाई, चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने बर्ष ३१ का राजीव श्रेष्ठ, धादिङ्ग थाक्रे गाउँपालिका ८ घर भई कलंकी बस्ने बर्ष ४१ को राजु पौडेल, ४४ वर्षीय केशव प्रसाद मुडवरी, फबारा जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ्ग र कैलाली बर्दगोरिया गाउँपालिका ३ घर भई कालीमाटी बस्ने बर्ष २८ को प्रेम बडुवाल रहेका छन्।
श्रेष्ठ आफैले जुवा खेलाउने र मिटरब्याजमा रकम लगानी गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। उनले चेक लिएर जुवामा लगानी गरिरहेका प्रहरीको भनाइ छ। पक्राउ परेका ७ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान हुने भएको छ।