संखुवासभा- चैनपुर नगरपालिका–४ मैदानेमा प्रहरी र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ।
प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो।
दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको जिल्लाका प्रहरी प्रमुख नवराज मल्लले बताए।
प्रहरीको करबाहीबाट विप्लवका कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको मल्लले जानकारी दिए।
त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले बताए।
घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन्।
घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए। रासस