काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हङकङमा भएको आगलागीमा परी सात नेपाली नागरिकको मृत्यु भएको खबरले आफू स्तब्ध भएको बताएका छन्।
देउवाले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत यो कठिन घडीमा एक–अर्कालाई आवश्यक मद्दत गर्न सम्पूर्ण हङकङबासी नेपालीलाई अनुरोध गरेका छन्।
देउवाले आगलागीमा मृत्यु हुनेका परिवार र उपचाररत घाइतेलाई नेपालबाट आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
आइतबार राति हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेस्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको निधन भएको थियो।
नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा बागलुङ समाज हङकङका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको थियो।
मृत्यु हुनेमा नौ वर्षीय बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ।