काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने भूमिका खेल्न आग्रह गरेका छन्।
नेता नेपालसँग आइतबार बालुवाटारमा भएको भेटमा ओलीले यस्तो आग्रह गरेका हुन्।
शुक्रबारको सचिवालय बैठकमा नेकपा अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री ओलीको कडा आलोचना गरिएको छ।
ओली पक्ष राजनीतिक प्रस्ताव एकतर्फी रुपमा ल्याएको भन्दै दाहालसँग रुष्ट छ। त्यसैले ओली जसरी पनि राजनीनिक प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा रहेको नेकपा उच्च स्रोतले बतायो।
भेटमा ओलीले नेता नेपाललाई प्रस्ताव फिर्ता गराउन आग्रह गरेका थिए। नेपाललाई उधृत गर्दै स्रोतले भन्यो, 'राजनीतिक प्रस्ताव फिर्ता हुनुपर्छ। त्यसमा तपाईंले भूमिका खेलिदिनुपर्यो।'
ओली र नेपालबीचको भेटवार्तामा पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए। जबाफमा नेपालले राजनीतिक प्रस्ताव एकल नभएकाले सचिवालयका पाँच सदस्यकाे धारणा रहेकाे बताएका थिए।
पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले छलफल र परामर्श तीव्र पारेका छन्।
आज बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेपछि ओलीले नेता नेपालसँग बालुवाटारमा भेट गरेका हुन्।
नेता गौतमसँगको भेटमा पनि ओलीले अर्का अध्यक्ष दाहालले ल्याएको प्रस्ताव फिर्ताका लागि पहल गर्न आग्रह गरेका थिए।
त्यसको जवाफमा नेता गौतमले भने सचिवालय बैठकमा नै आफ्नो कुरा राख्न भनेका थिए।
नेता गौतमले ओलीलाई सच्चिएर अघि बढे अहिले देखिएको समस्या समाधान हुने सुझाव दिएका थिए।
दाहालले एकल राजनीतिक प्रस्ताव पार्टी सचिवालयको बैठकमा पेस गरेपछि ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पनि यस बारेमा छलफल गरेका थिए।
२६ भदौमा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन हुन नसकेपछि नेकपाभित्रको विवाद चुलिएको छ।
विवाद बढेका कारण लामो समयपछि गत शुक्रबार सचिवालय बैठक बसेको थियो। बैठकमा अध्यक्ष दाहालले सरकार र पार्टीमा दुवै केही काम गर्न नसकेकाले ओलीले पदबाट हट्नुपर्ने आसयको राजनीतिक प्रस्ताव पेस गरेपछि विवाद झन् बढेको छ।
त्यसअघि ओली र दाहालबीच भएको पत्र आदानप्रदानले पनि पार्टी विवाद थप जटिल बन्न पुगेको छ।