जनकपुर- जनकपुरधाम-७ पेठियामा एक युवाले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका छन् ।
एसिड प्रहारबाट २१ वर्षीया आरती साह र ४ वर्षीया छोरी रिया घाइते भएका छन् । आरतीलाई लक्ष्य गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रिया साहको बायाँ हात पनि जलेको छ ।
छुट्टै बसेका श्रीमती र छोरीलाई डेरामा पुगेर सञ्जीव साहले शनिबार एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।
गम्भीर अवस्थामा रहेकी आरतीको जनकपुरमा उपचार हुन नसकेपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं लगिएको छ ।
उपचारमा संलग्न चिकित्सक डा आदित्य यादवका अनुसार आरतीको शरीरको २५ प्रतिशत भाग जलेको छ । अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको उनले जानकारी दिए ।
छोरी रियाको भने जनकपुरको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन बनेयता मुलुकमा पहिलो पटक एसिड आक्रमणको घटना भएको हो । घटनालगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको छ ।
तरकारी बेचेर गुजारा चलाउँदै आएकी र सञ्जीवबीच पाँच वर्षअघि विवाह भएको थियो ।
बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए । सम्पत्ति लेनदेनमा विषयमा दुईजना बीच झगडा हुँदै आएको प्रहरीले जनएको छ ।