काठमाडौं– कोरोना संक्रमणबाट विश्वभरमै दोस्रो बढी प्रभावित देश हो भारत। भारतमा पनि सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र देखिएको छ। तर महाराष्ट्रमा करिब आठ महिनापछि मन्दिर खुल्ने भएका छन्।
पुरा भारतमा ८८ लाख १४ हजार कोरोना संक्रमितमध्ये महाराष्ट्रमा मात्रै १७ लाख ४४ हजारभन्दा बढी संक्रमित अझै ८५ हजारभन्दा बढी सक्रिय संक्रमित भए पनि सोमबारदेखि यहाँका मन्दिरहरु खुल्ने भएका हुन्। महाराष्ट्रमा आजसम्म ४५ हजार ९१४ जनाले ज्यान गुमाइसकेका छन्।
यद्यपित सोमबारदेखि महाराष्ट्रमा सबै धार्मिकस्थल खोल्ने सहमति भएको छ। गत १८ मार्चदेखि महाराष्ट्रमा सबै मन्दिर बन्द गरिएका थिए। अब भने मन्दिर खोल्ने विषयमा त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरे र राज्यपाल भगत सिंह कोश्यारीबीच पत्र आदानप्रदान भएको भारतीय मिडियाले जनाएका छन्।
भारतमा कोरोना भाइरसको महामारी नरोकिए पनि स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न क्षेत्रहरु खोलिन थालेका हुन्। भारतभर आइतबार बिहानसम्म ८८ लाख १४ हजार नौ सय भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन्। त्यसमध्ये ८२ लाख ३ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ७९ हजार पाँच सय अझै सक्रिय संक्रमित छन्।