काठमाडौं- चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
११ दिनको अस्पताल बसाइँपछि उनी शनिबार कोरोनामुक्त भएर घर फर्किएका हुन्। कोरोना संक्रमणका कारण अवस्था जटिल बनेपछि उनलाई चार दिन आइसियूमा राखिएको थियो।
अहिले आफ्नो अवस्था सामान्य भएको र घर फर्किएर आराम गरिराखेको गजुरेलले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।
उनले लेखेका छन्- 'धन्यवाद तथा आभार ११ दिनको अस्पताल बसाइँ पश्चात घर फर्किएर आराम गरिरहेको छु। कोभिड १९ रिपोर्ट नेगेटिभ आएको छ। केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कनेछु।'
गजुरेल कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका थिए। अवस्था जटिल बनेपछि उनलाई कात्तिक १९ गते बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।