काठमाडौं- नेवार समुदायले आज म्हःपूजा गर्दैछन् । नेपाल सम्वतको नयाँ वर्ष सुरु भएको दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ ।
आजबाट नेपाल सम्वत ११४१ सुरु भएको छ। नेवार समुदाय बिहान नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वात गर्ने र साँझ म्ह पूजा तयारीमा छन् ।
म्हः पूजाका लागि सबैभन्दा पहिले मण्डप बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतले घेरा हालिन्छ ।
मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा रहेको छ ।
मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, बयर लगायतका फलफूल राख्ने गरिन्छ । म्हः पूजामा र भाइटीकामा नेवार समुदायले काँचो धागोले बनाएको जजंका अनिवार्य हुन्छ ।
म्हः पूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला) ले गर्ने परम्परा छ ।