काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली समर्थित नेताहरु सामाजिक सञ्जालमा खनिएका छन्।
शुक्रबार सचिवालयमा दाहालले पेस गरेको प्रस्तावको विरोध गर्दै पूर्वमन्त्री गोकुल बाँस्कोटा र ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आलोचना गरेका हुन्।
पूर्वमन्त्री बाँस्कोटाले दाहालको प्रस्तावलाई अविश्वास प्रस्ताव संसदमा पेस गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणित आरोपको पुलिन्दा भनेका छन्।
उनले ट्विटरमा लेखेका छन्, 'अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रूपमै समाप्त पारेजस्तो देखियो।'
उनले दाहाललाई प्रस्ताव फिर्ता लिन वा गम्भीर तनावको यात्रा रोज्न आग्रह गर्दै लेखेका छन्, फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्नेरुमर्जी आफ्नै त हो।
यस्तै प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले अध्यक्ष दाहालबाट सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो भनेका छन्।
उनले फेसबुकमा लेखेका छन्, 'यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन।'
थापाले पार्टी विधान, परम्परा, अभ्यास र दुवै अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको आरोप लगाएका छन्।
उनले भनेका छन्, 'यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ।'