काठमाडौं- चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारबाट उपचार खर्च लिन अस्वीकार गरेका छन्।
कोरोना भाइरसबाट संक्रमित भएपछि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी ओलीले जानकारी दिएका थिए।
शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भनेका थिए, “कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु।”
त्यसको प्रतिक्रियामा शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा. केसीले आफ्नो उपचार खर्च आफैले व्यहोर्ने बताएका हुन्।
बरु सरकारलाई आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका डा. केसीले आफ्नो स्वास्थ्यप्रति सरकारले चासो दिएकोमा धन्यवाद ज्ञापन गरेका छन्।
डा. केसीले भनेका छन्, ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ। उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च व्यहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च व्यहोर्नेमा हुनुपर्दछ।’
उनले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन भैदिएको भए नागरिकको उपचारमा अहिलेको जस्तो समस्या हुने थिएन पनि भनेका छन्।
‘हामीसँग पटक-पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरूको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’, डा. केसीले भनेका छन्, ‘तसर्थ हामीसँग १९औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्नुहुन अनुरोध गर्दछु।’