मंगलबार, भदौ १६, २०८३

नेपाली शान्ति सैनिकलाई सघाउन १३ वटा कुकुर परिचालन

कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा  हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं-  नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ।

कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा  हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ।

इमान्दार र गुनिलो जातका रुपमा परिचित कुकुर भैरवको वाहन मानिन्छ। घरको विश्वसनीय पहरेदार कुकुर धेरै मानिसका घरहरुमा पालिने भए पनि वर्षको एकपटक यमपञ्चकको दोस्रो दिन पूजा गरिन्छ।

नेपाल प्रहरीले अपराध अनुसन्धानमा दर्जासमेत दिएर कुकुर प्रयोग गरेको धेरै वर्ष भइसकेको छ भने नेपाली सेनाले १८ वर्षदेखि शान्ति स्थापना कार्यमा लैजाने गरेको छ। 

महाभारतका अनुसार पाण्डवहरु स्वर्ग जाँदा एउटा कुकुर पनि सँगै गएको थियो। रुसले ‘लाइका’ नामक कुकुर अन्तरीक्षमा पठाएको थियो जुन पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो जनावर बनेको थियो। नेपालमा जङ्गलमा सिकार गर्न भोटेकुकुर लाने पनि चलन छ।
     
संयुक्त राष्ट्र सङ्घको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा ‘शान’ र ‘गामिनी’ नामक दुई कुकुर समावेश गरेको थियो । लाइबेरिया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगिसकिएको छ।

लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिबियामा पनि परिचालन गरेको हो।

नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग गर्दै आएका छन्।

त्यहाँ खासगरी हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षामा कुकुर समावेश गरिएको छ।

पछिल्लोपटक लिबियामा गत यही कात्तिक १४ गते ‘किलो’ नामक कुकुर पठाइएको छ भने लिबियाबाट हालै फिर्ता भएको ‘माइकल’ नामक कुकुरलाई सेनाको क्वारेन्टिनमा राखिएको छ।

सरकारले २०५५ सालमा सेनामा तालीमप्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालिम दिइएको थियो । गट्ठाघरस्थित भैरव वाहन गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५४, कुकुर स्पाइनल पाँचवटा कुकुर तथा मालिनोइज जातका तीन साना छाउरा रहेको गुल्मपति सञ्जीवसिंह सिजापतिले जानकारी दिए।

कुकुरमा तीन किलोमिटर टाढासम्मको गन्ध थाहा पाउने शक्ति हुन्छ भने एक पटक सुँघेको कुरा एक घण्टासम्म स्मरण गर्न सक्छ।

एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन रु ३७३ खर्च छ । शान्ति सेनामा सुरक्षा र गस्तीमा खटिने प्रतिजोडाले  ८९० र  खोज तथा उद्धारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५ अमेरिकी डलर भत्ता प्राप्त हुने उक्त गुल्मले जनाएको छ।

सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ। सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षका उमेरसम्म पूर्णरुपमा काम गर्ने बताइन्छ।

यसका अतिरिक्त सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर दुई र जर्मन सेफेर्ड एक तथा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारी नियन्त्रणका लागि मालिनोइज र लेब्राडोर दुई जातका कुकुर रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले कुकुरलाई समयानुकूल तालीम प्रदान गर्न  डग हाण्डलरलाई भारत, पाकिस्तान र बङ्गलादेश पठाउने गरेको छ । सुरक्षा फौजले सञ्चालन गर्ने विभिन समारोहमा समेत खेलकूद र मनोरञ्जनका लागि कुकुर प्रयोग गरिँदै आएको छ। रासस
 

प्रकाशित: Nov 14, 2020| 08:29 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।