काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकल राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।
शनिबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पोखरेलले पार्टीका प्रथम अध्यक्षविरुद्ध संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरेको उनले लेखेका छन्।
‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ’, उनले लेखेका छन्।
नेता पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरि एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध पनि गरेका छन्।
२६ भदौंमा सकिएको पार्टीको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएपछि नेकपामा विवाद चुलिएको छ। नेकपाभित्र देखिएको विवाद अहिले लिखित रुपमै एक अर्काको विरुद्ध देखिएको छ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै सचिवालयका पाँचजना सदस्यले २२ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै लिखित पत्र नै बुझाएका थिए।
त्यसको जवाफ ओलीले कार्यकारी अध्यक्ष दाहाललाई सम्बोधन गर्दै लिखित रुपमै पेश गरेका थिए। ओलीले सरकार सञ्चालनमा अवरोध गरिएको र नेताहरुले आफ्नो जिम्मेवारी पुरा नगरेको बताएका थिए।
त्यसको प्रत्युत्तर शुक्रबार बसेको सचिवालयको बैठकमा पुनः दाहालले लिखित जवाफ बुझाएका थिए। दाहालले शुक्रबार १९ पृष्ठ लामो एकल राजनीतिक प्रस्ताव पनि पेश गरेका छन्।
उनले पार्टीमा विवाद आउनुमा र सरकारको काम चुस्त नहुनुमा दुवैको मुख्य नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको टिप्पणी गरेका छन्।
३ मंसिरमा बस्ने सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ जना सचिवालय सदस्यले बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र, जवाफमा ओलीले दाहाललाई पठाएको पत्र, त्यसमा दाहालले दिएको प्रत्युत्तर र समस्या समाधानका लागि दाहालले तयार गरेको प्रस्ताव अध्ययनपछि छलफल हुनेछ।