बागलुङ– गलकोट नगरपालिका ७ मल्म घर भई हाल जापानमा रहेका तुलवीर थापा ‘समर्पण’ले जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन्।
शुक्रबार आविष्कार केन्द्रमै पुगेर पत्रकार बबिता शर्मा र बैंकर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरेका हुन्। संयोजक पुनले प्रवासदेखि थापाले गरेको सहयोग र देखाएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताए।
थापाले तत्काललाई ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको पाँच हजार केन्द्रका लागि छुट्याउने प्रतिबद्धता जनाए। त्योसमेत गरी थापाको सहयोग रकम एक लाख दश हजार पुग्ने छ।
‘जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो,’ उनले भने। नौ वर्षअघि जापान पुगेका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ।