काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताप्रतिदेखि अहिलेसम्म आइपुग्दा आफूले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबाट अपमानित मात्रै हुनुपरेको दुःखेसो पोखेका छन्।
आफूसहित सचिवालयका पाँचजना सदस्यले बुझाएको पत्रको जवाफ प्रधानमन्त्री ओलीले दिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि प्रत्युत्तर फर्काएका हुन्।
ओलीले भने हरबखत पार्टी नेतृत्व लिन मात्र चलखेल गरिरहेको भन्दै महाधिवेशनसम्म पर्खन दाहाललाई आग्रह गरेका थिए।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा दाहालले ओलीलाई फर्काएको जवाफमा दाहालले ओलीले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्बन गर्दै आएको कुराले आफूलाई निकै ठूलो पीडा र अपमानबोध गराएको उल्लेख गरेका छन्।
‘पार्टी एकताका बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकारसमेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ। तर, मैले जति त्याग गरें तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो,’ उनले लेखेका छन् ,‘४ मंसिर २०७६ मा कार्यकारी अध्यक्षको हैसियतमा मैले पार्टी काममा केन्द्रित हुने र मेरै प्रस्तावमा देशमा सरकार पूरै कार्यकाल तपाईंले चलाउनेसम्मका निर्णय भएको दुई दिन नबित्दै तपाईंले मेरो कार्यकारी हैसियतमाथि सार्वजनिक रुपमा चुनौती दिएर खुला अवज्ञा गर्नुभयो।’
पत्रमा अभिव्यक्त मत, भावना र आशय हेर्दा दुःखका साथ यो चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झुटको पुलिन्दा भएको दाहालको जबाफ छ।
‘अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’ का रुपमा महसुस गरैं। पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो गहन जिम्मेवारीमा रहेका तपाईं कमरेडबाट तथ्यहरुको यतिधेरै तोडमोड र यति तल उत्रिएर झुटको खेती गर्न सक्नुहुँदो रहछे भन्ने कुराले मलाई निकै आश्चर्यचकित र चिन्तित तुल्याएको छ,’ उनको जवाफ छ।
नेताहरुका बीचमा समन्वय कायम गर्न पहल गर्नुको सट्टा एकअर्काका विरुद्ध जुधाउन र चलखेल गर्न खोज्ने कुराको यो भन्दा ठूलो प्रमाण अरु केही हुन नसक्ने दाबी गरेका छन्।
‘अति गर्नु, अतिचार नगर्नु भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, एनअफ इज एनअफ’ दाहालले जवाफमा भनेका छन्।
केन्द्रीय समितिको दोस्रो बैठकको सफलतापछि ओलीले आफू निकटका नेता भेला नै गरेर अब पूर्व माओवादीमाथि हमलाको अभियान चलाउने निर्णय गरेको दाहालको आरोप छ।
उनले भनेका छन्, देशव्यापी अभियान चलाउनु पनि भयो। त्यो प्रक्रियाका उत्कर्ष मेरो अध्यक्षका कुर्सी हटाएर अपमानित गर्ने स्तरसम्म उत्रिनुभयो।’
अहिले पनि दुई अध्यक्षका बीचमा जे भए पनि पार्टी एकता अगाडि बढाउनुको विकल्प नभएको दाहालको भनाइ छ।
‘समझदारी बनाएर जाऔं भन्ने सहमतिमा कार्यदल गठन गरियो। र, त्यसको प्रतिवेदनका आधारमा २६ भदौमा स्थायी समितिले ठोस प्रस्ताव पारित गर्याे। यो प्रक्रियामा कार्यदलप्रति तपाईं गम्भीर नभएको संकेत कार्यदलको संयोजकले दुवै अध्यक्षलाई भेटेर यसबीचमा विवाद हुने अभिव्यक्ति नदिनु र सरकारबाट विवाद हुने निर्णय नगर्न सुझाव दिएपछि तपाईंले शृंखलाबद्ध मेरो र वरिष्ठ नेताहरुका विरुद्ध गालीगलौजमा उत्रनुको पात्रहरु छानीछानी नियुक्ति गरेबाट स्पष्ट भएकै थियो’, दाहालले पत्रमा लेखेका छन्।
ओलीले एकातिर कार्यकारी अध्यक्ष दिइसकेपछि गरेर देखाउनुप¥यो भन्ने गरेको र अर्कोतिर एक नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काममा आफ्नो सहमतिबिना हुन नसक्ने कुराको अड्डी लिइरहेको गुनासो दाहालको छ।
एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरु एवम् सचिवालयका सदस्यहरुसँग गरेको भेटघाट र सरसल्लाहलाई गुटबन्दी ठान्ने भन्दै दाहालले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्न आग्रह गरेका छन्।
उनले भनेका छन्, 'सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने स्थायी समितिको निर्देशनविपरीत तपाईं समेतको निर्देशनमा कहीं जिल्लास्तरीय, कहीं प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन के हो नि कमरेड?'
दाहालले बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला बैठकहरु गुटबन्दी होइनन् र भन्ने प्रश्न ओलीसँग गरेका छन्।
उनले भनेका छन्, 'अर्काको आङको जुम्रा देख्ने र आफ्नो आङको भैंसी पनि नदेख्ने भनेको यही होइन र?
पत्रले अब पार्टीमा स्पष्ट र खुला वैचारिक छलफल हुनेछ र विधि संगत ढंगले लिइने पार्टीका निर्णयहरु सबैले मानेर जाने वातावरण बन्नेछ भन्ने आशा लिएको दाहालले उल्लेख गरेका छन्।
दाहालले पार्टीमा देखा परेको समस्या समाधानका लागि आफू सदैव खुला छलफल गर्न तत्पर रहेको दाबी गरेका छन्।
‘आज पार्टी, सरकार र देशकै अगाडि देखापरिरहेका समस्या र चुनौतीका सम्बन्धमा वैचारिक छलफलको विषयलाई खुला गरौं र खुला छलफल गरौं भन्नुभएको छ। कहींकतै कमी भए खुला छलफल गरौं, सच्च्याऔं र अघि बढौं पनि भन्नुभएको छ,’ दाहालले पत्रमा लेखेका छन्, ‘मैले तपाईंसँग छलफलमा होस् वा कमिटीका बैठकमा सधैं खुला पारदर्शी वैचारिक, राजनीतिक र सांगठनिक छलफलको आग्रह गर्दै आएको छु।’
पार्टी एकताको रक्षा हुनुपर्दछ भन्ने कुरामा आफू उत्तिकै दृढ रहेको दाहालको भनाइ छ।
उनले भनेका छन्, 'मैले खुला र स्पष्ट वैचारिक, राजनीतिक छलफलको तपाईंको प्रस्तावलाई स्वागत गर्नुको अर्थ पार्टी एकतालाई सुदृढ गर्ने नयाँ आधारको खोजी गर्नु नै हो। आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुने छैन भन्ने आशा र विश्वास व्यक्त गर्दछु।’
दाहालले नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाइतिर लैजान ओलीसँग आग्रह गरेका छन्।
उनले भनेका छन्, 'एकता संघर्ष रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ।'