काठमाडौं– सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सहज नेतृत्वको हस्तान्तरणको बाटो छाडेर हरबखत चलखेल नगर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, 'चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन?
२५ कात्तिकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष दाहाललाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।
२२ कात्तिकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच जना सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीलाई लिखित रुपमै पत्र बुझाए।
सोही पत्रको अध्ययन गरेपछि ओलीले दाहाललाई १० पृष्ठ लामो पत्र लेखेका हुन्।
पत्र आदानप्रदानको कुरा शुक्रबार सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्। त्यसपछि ओलीले दाहाललाई लेखेको पत्र सार्वजनिक भएको हो।
‘मैले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु। तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ,’ ओलीले पत्रमा लेखेका छन्, ‘चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन?’
उनले अगाडि लेखेका छन्, ‘के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन? त्यसरी नै दुई वर्षपछि आमनिर्वाचन हुन्छ। मेरो विश्वास छ नेकपाको विजय यात्रा जारी नै रहनेछ। त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ। के कमरेडहरुलाई दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो? होइन भने, फेरि किन सधैंभरि सरकारका लागि दौडधुप?'
चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीले लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता बाँकी नरहने पनि ओलीले स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीले अहिलेको सम्पूर्ण समस्याको वास्तविक जड निश्चित शीर्ष नेताहरुको अतृप्त आकांक्षाको प्रतिफल बाहेक केही नभएको बताएका छन्।
‘शीर्ष स्थानमा रहेर दशकौं पार्टी चलाइसकेका, प्रधानमन्त्री वा त्यस्तै महत्त्वपूर्ण पद सम्हालिसकेका व्यक्तिहरुको पुनः त्यतै फर्किने व्यग्र आकांक्षाले यर्थाथमा यी सबै समस्या कृत्रिम ढंगले र बलजफ्ती खडा गरिएका हुन्’, उनले भनेका छन्।
ओलीले बहुमत-अल्पमतको अंकगणित त त्यसै पनि कहिले घाम, कहिले छाया जस्तो हुन जाने बताएका छन् ।
पत्रमा उनले भनेका छन्, 'छेउ अल्पमतको अंकगणित त त्यसै पनि कहिले घाम, कहिले छाया जस्तो हुन जान्छ। छेउछाउमा बसेका साथीहरुले सिट्टी बजाउँदा हौसिँदै जाने हो भने नीति र विधिबाट निर्णय गर्ने होइन, कृत्रिम रुपमा सिर्जित पर्सेप्सनको आधारमा बहकिने खतरा पैदा हुन्छ।'
उनले विधि, पद्धति भनेको जता दुलो, उतै दैलो भने जस्तो नभएको पनि जोड दिएका छन्।
ओलीले पत्रमा भनेका छन्, 'पार्टीको गोपनीयता अपारदर्शिता होइन। अन्तर पार्टी जनवाद स्वच्छन्दता होइन। कपट र जालझेलपूर्ण व्यवहार अन्तर पार्टी बहस वा अन्तर पार्टी संघर्ष होइन। आफू समानका कमरेडहरुसँग गरिने तहगत योजना वा पार्टी नेताकार्यकर्ताको समीक्षाको विषय सडकको चर्चाका विषय हुन सक्दैन।’
प्रधानमन्त्रीले पत्रमा क्रियाशील र क्षमतावान नयाँ पुस्ताले पदमा बसेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्छु भन्ने मौका नपाउने र उनीहरु झगडा मिलाउनै हरदम व्यस्त हुनुपर्ने षडयन्त्रपूर्ण खेलको अध्याय अन्त्य गर्दै आ–आफ्नो काममा जट्न पनि आग्रह गरेका छन्।
‘म खासगरी कमरेड प्रचण्डलाई प्रश्न गर्छु केही दिनको कचकच, एक खाले सहमति, त्यसको २-४ दिनपछि फेरि उही कचकचको शृंखलामा हामी कहिलेदेखि छौं र कहिलेसम्म रहने? कमरेडहरु यो तमासाबाट अझै आजित हुनुभएको छैन? देश, जनता र समग्र पार्टी पंक्तिले हामीबाट गरेको अपेक्षा यही हो त?’ उनले भनेका छन्।
दाहालले बेलाबेलामा आफूलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि भन्ने गरेको भन्दै ओलीले पत्रमा भनेका छन्, ‘कसरी र के भन्दा कमरेड फकिनुहुन्छ? भन्नुस् न त मुलुकको समृद्धिका लागि जनताको खुसहालीका लागि नेपाली कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि पार्टीलाई थप सुदृढ गर्नका लागि हुन्छ। 'म तपाईंलाई फकाउन तयार छु। ल मैले फेरि फकाएँ आउनुस गुटबन्दी र दाउपेच छाडौं, हाम्रो यो प्यारो पार्टीलाई एकजुट बनाऔं।’