सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ।
गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना सङ्क्रमण देखिएपछि कोरोना सङ्क्रमणको दर बढ्नसक्ने भन्दै यस क्षेत्रमा बन्द गरिएको हो।
पाँच जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा बिहीबार राति एक जनामा नेगेटिभ अन्य सबै चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिए।
पालिकाभित्रै एकापसमा समुदायस्तमा सङ्क्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि २८ गतेदेखि कात्तिक ३० गते तीन दिनसम्मका पालिका प्रवेशमा आवतजावतमा रोक लगाउँदै सिल गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए।
सिल गरिएको स्थान र मितिभित्र आन्तरिक तथा बाहिय मानिसले आवतजावत नगरि दिन आगह्र गर्दै यदि नियमित विपरीत गरेको पाइए पालिकाले कानूनबमोजिम कारवाही गर्ने अध्यक्ष लामाले जानकारी दिए।रासस