काठमाडौं–उत्तरी इथियोपियाको टीग्रे क्षेत्रमा बढ्दो द्वन्द्वकाबीच ‘सम्भवतः सयौँ गैरसैनिकहरूको आमहत्या’ भएको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
टीग्रे पीपल्स लिबरेसन फ्रन्ट (टीपीएलफ) नामक सङ्गठनका सैनिकहरूले सोमवार त्यस्तो नरसंहारको घटना गराएको प्रत्यक्षदर्शीहरूले बताएको कुरा एम्नेस्टीलाई उद्धृत गर्दै जनाइएको छ।
तर टीग्रेका अधिकारीहरूले टीपीएलफका समर्थकहरू उक्त घटनामा संलग्न नभएको जिकिर गरेका छन्।
इथियोपियामा गत हप्तादेखि सरकारी सैन्य र टीपीएलफबीच भिडन्त सुरु भएको थियो।
इथियोपियाको त्यस क्षेत्रमा टेलिफोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएकोले कुनै पनि सूचना तथा जानकारीहरू हासिल हुन अप्ठ्यारो अवस्था भएको बीबीसीले जनाएको छ।
उक्त द्वन्द्वमा सबैभन्दा धेरै सङ्ख्यामा गैरसैनिकहरूको ज्यान लिइएको यो नै पहिलो घटना हुनसक्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलको अनुमान छ।
इथियोपियाको सरकार र देशको उत्तरी राज्य टीग्रेमा नियन्त्रण कायम गरेको टीपीएलफबीच लामो समयदेखि तनाव रहँदै आएको छ। जुन अब सैन्य भिडन्तमा परिणत भएको छ। भिडन्तका क्रममा सघीयय सेनाले हवाई आक्रकमण पनि गरेको छ।
परिणामस्वरूप हजारौँ गैरसैनिक सर्वसाधारणहरूले शरणका लागि सीमा पार गरेर सुडानमा प्रवेश गरेका छन्। सुडानले तिनीहरूलाई एउटा शरणार्थी शिविरमा राखेर आश्रय दिने बताएको छ।
एमनेस्टीको भनाइ
एमनेस्टीले वक्तव्यमा भनेको छ, ‘नोभेम्बर ९ को राति टीग्रे क्षेत्रको दक्षिणपश्चिममा अवस्थित मे काडेरा नगरमा सम्भवतः सयौँ मानिसहरूलाई छुरी धसेर वा धारिलो हतियारले काटेर मारिएको छ।’
संस्थाले उक्त घटनाको ‘तस्बिर र भिडिओहरू हेरेको र ती सक्कली नै हुन् भनेर डिजिटल रूपमा प्रमाणीकरण पनि गरिएको’ जनाएको छ। ती तस्बिर र भिडिओमा नगरभरि मानिसहरूको शरीर छरिएर रहेका र केहीलाई स्ट्रेचरमा हालेर अन्यत्र लैजाँदै गरेको देख्न सकिने बताइएको छ।
एम्नेस्टीका अनुसार मारिएकाहरू त्यहाँको द्वन्द्वमा सहभागी नरहेका श्रमिकहरू भएका जस्तो देखिन्छ। एम्नेस्टीका पूर्वी तथा दक्षिणी अफ्रिकाका निर्देशक डिप्रोस मुचेनाले उक्त घटनालाई ‘एउटा भयानक दुःखान्त घटना’ भनेका छन्।