जनकपुरधाम- धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरण अनसन बसेका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि आईसीयूमा भर्ना गरिएको छ।
कलेज परिसरमै कार्तिक १६ गतेदेखि अनसनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदिप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले बुधबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको हो।
कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै अस्पतालका दुई जना कर्मचारी कार्तिक १६ गतेदेखि आमरण अनसनमा बसेका थिए। अनसन बसेका कर्मचारीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आर्इसीयुमा उपचार भइरहेको छ।
कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरू गत असोज १२ गतेदेखि नै ठप्प गरेका छन्। उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दसैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका माग राख्दै एक महिनादेखि धर्ना समेत दिएका थिए।