सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नगरपालिका भित्रै पनि विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

नगरपालिका भित्रै पनि विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

बागलुङ–जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ। 

जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउनु नपर्ने भए पनि गलकोट नगरपालिका १० पाण्डवखानीको रमुवाका विद्यार्थी कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ। 

पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। 

कक्षा १० सम्मकै अध्ययनका लागि घर छाड्नु दुर्गम गाउँका विद्यार्थीको नियति बनेको छ। दुर्गम गाउँका रूपमा रहेको रमुवामा कक्षा ८ सम्म मात्रै अध्यापन हुँदा यहाँका विद्यार्थीलाई पाण्डवखानी आउनुपर्ने समस्या रहेको गलकोट १० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताए।

‘रमुवामा कक्षा ८ सम्म मात्र पढाइ हुन्छ, त्यसपछि पाण्डवखानी माध्यमिक विद्यालय पुग्न करिब तीन घण्टा पैदल लाग्छ,’ घर्तीले भने, ‘आउन जान सम्भव छैन, त्यसैले त्यही स्कुल आसपासमा बास खोजेर अध्ययन गर्नुपर्ने अवस्था छ।’

अहिले रमुवाका २० भन्दा बढी विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयको ९ देखि १२ कक्षासम्म बास खोजेर अध्ययन गर्दै आएका छन्। 

विसं ०३३ मा स्थापना भएको रमुवा आधारभूत विद्यालयमा १० कक्षासम्म अध्यापन गराउन सके विद्यार्थीलाई बास बस्नुपर्ने समस्या हटेर जानेछ। कक्षा १० देखि माथि नगरपालिकाको केन्द्र हटियादेखि अन्य सहर बजार गएर पढ्न सकिने भए पनि गाउँमै १० कक्षासम्मको विद्यालय सञ्चालन गर्न आवश्यक रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रानाले बताए। 

रमुवा गाउँमा १२६ घर छन् । गाउँमै विद्यालय नहुँदा कक्षा ८ मात्रै अध्ययन गरेर छोडेको रमुवाका २१ वर्षीय  राजेश विकले बताए। उनले चार वर्षअघि रमुवा आधारभूत विद्यालयबाट ८ कक्षा पास गरेका थिए। 

‘गाउँमा विद्यालय भएन, बास बसेर अध्ययन गर्दा धेरै खर्च लाग्ने भएपछि विद्यालय छोड्नुपर्ने बाध्यता पर्यो,’ विकले भने।  

कक्षा ९ र १० अध्ययन गर्न घरै छोडेर आउनुपर्ने हुँदा धेरै समस्या भोग्दै आएको पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनका लागि कोठामा बस्दै आएका प्रेमबहादुर श्रीसले बताए। 

‘घरबाटै विद्यालय जान पाए धेरै खर्च जोगिन्थ्यो,’ श्रीसले भने, ‘घर छोडेर उच्च शिक्षा लिन पाए त हुन्थ्यो, १० कक्षा पढ्न गाउँनै छोड्नुपर्ने अवस्था छ।’ श्रीस जस्तै बास बसेर चन्द्रा पटेल, ईश्वर क्षत्रीसहित रमुवाका २२ विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्।

आर्थिक वर्ष ०७७÷०७८ मा आवासीय रूपमा अध्ययन गर्नुपर्ने समस्यामा रहेका विद्यार्थीका लागि खान र बस्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष घर्तीले जानकारी दिए। 

उनका अनुसार पाण्डवखानी माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको निःशुल्क शिक्षा र रमुवामा १० कक्षासम्मको शिक्षा दिने गरी पहल भइरहेको छ।

प्रकाशित: Nov 13, 2020| 00:59 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।