काठमाडौं- बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४२ नम्बरको बस गएराति दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो।
राति १० बजे बस एक्कासी सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले मृतकहरुको सनाखत हुन बाँकी रहेको जानकारी दिए।
दुर्घटना भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट प्रहरी टोली उद्धारमा खटिएका थिए। मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्। दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।
रातिको समयमा दुर्घटना भएकाले उद्धारमा केही कठिनाइ भएको थियो। चालक र सहचालक दुवै घाइते भएका कारण दुर्घटना कसरी भएको भन्ने केही खुलिसकेको छैन। डिएसपी अधिकारीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजान लागिएको छ।