काठमाडौं– सत्तारुढ नेकपा सचिवालयका पाँच सदस्य पार्टी सचिवालय बैठकमा प्रधामन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकजुट भएर प्रस्तुत हुने भएका छन्।
सचिवालय बैठकको पूर्वसन्ध्यामा अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बिहीबार भएको छलफलमा पाँच नेताहरुले यस्तो रणनीति बनाएका हुन्।
पाँच नेताहरुबीच सचिवालय बैठकमा पार्टी र सरकारमा रहेको एकतन्त्रीय शैलीलाई तोड्ने गरी प्रस्तुत हुने सझदारी जुटेको स्रोतले बतायो। सत्तारुढ नेकपाको पार्टी सचिवालय बैठक शुक्रबार बस्दै छ।
खुमलटार स्रोतका अनुसार शुक्रबारकाे बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आवश्यक रणनीति बनाउन पाँचै जना नेताहरुले छलफलबीच छलफल भएको थियो।
‘आज छलफल भएको हो। भोलिको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएर प्रस्तुत हुनेमा सबै एकमत छन्,’ स्रोतले भन्यो।
छलफलमा दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।
सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित रुपमै प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेपछि ओली बैठक राख्न सहमत भएका थिए।
सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान हाेला या झन् बढ्ला भन्नेमा धेरैको चासो छ।
दाहालले अनौपचारिक भन्दै यसअघि बोलाएको छलफलमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएका थिएनन्। उनी आजको छलफलमा पनि सहभागी भएनन्।
ओलीलाई बैठक राख्न भन्दै लिखित रुपमा नै ध्यानाकर्षण गराए पनि उनी तयार भइसकेका थिएनन्। त्यसपछि कार्यकारी अधिकार प्रयोग गरेर दाहालले बैठक राख्ने तयारी गरेपछि महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गरेर शुक्रबारका लागि बैठक बोलाएका हुन्।
भोलि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै छ। १० असारमा सुरु भएको नेकपाको स्थायी कमिटी बैठकबाट चुलिएको विवाद ७९ दिन लामो रस्साकस्सी पछि २६ भदौमा टुंगो लागेको थियो।
स्थायी कमिटीको उक्त बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद् पुनगर्ठन गरेको, राजदूत नियुक्ती गरेको लगायत भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग गोप्य भेटेको र कर्णाली प्रदेशमा देखिएको विवाद लगायतले अहिले नेकपाभित्र पुनः विवाद चुलिएको छ।