सुर्खेत– कर्णालीका कोरोना संक्रमतिले टेलिफोन, फेसबुक र भाइबरबाट स्वास्थ्य परामर्श पाउने भएका छन्। प्रदेश अस्पताल सुर्खेतले संक्रमितका लागि टेलिमेडिसिन (दूर चिकित्सा) सेवा सुरु गरेको हो।
यसअघि नै दुर्गम ठाउँका बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरु गरिसकेको अस्पतालले बिहीबारदेखि कोरोना संक्रमितको लागि पनि टेलिमेडिसिन सेवा सञ्चालन गरेको हो।
होम आइसोलेसनमा बसेका संक्रमितको सहजताका लागि टेलिमेडिसिन सेवा सुरु गरेको अस्पतालका कोरोना फोकलपर्शन डाक्टर नवराज केसीले जानकारी दिए। संक्रमितले स्वास्थ्यमा समस्या आएको खण्डमा अस्पतालको फोन. ९५०७०२४६ र ९५०७०२४८ मा फोन वा भाइबर र फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर चिकित्सकसँग परामर्श लिन सक्ने छन् ।
घरमा बस्दा कतिपय सङ्क्रमित सल्लाह नपाउँदा तनाबमा हुने गरेका कारण भन्दै अस्पतालले टेलिमेडिसिन सुरु गरेको हो।
चिकित्सकहरुले टेलिमेडिसिन सेवामार्फत संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्ने, सल्लाह दिने र जटिल अवस्था आएपछि तत्काल अस्पताल ल्याउन यातायतको व्यवस्था गर्ने जानकारी दिए।
संक्रमितलाई गम्भीर समस्या देखिएको खण्डमा होम आइसोलेसनमै एम्बुलेन्स पठाएर विरामीलाई अस्पताल ल्याउने डाक्टर केसीले बताए। कर्णालीका ६३ प्रतिशत संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।