काठमाडौं- इम्पिरियल कलेज लन्डनको नेतृत्वमा गरिएको एक विश्लेषण अनुसार नेपालका किशोरकिशोरीको उचाइ नेदरल्याण्ड्सका किशोरकिशोरीको तुलनामा करिब १८ सेन्टिमिटर कम पाइएको छ।
यो अध्ययनमा २०० देशका स्कुले बालबालिका र किशोरकिशोरीको उचाइ र तौलको तुलनात्मक अध्ययन गरिएको थियो। जसमा बालबालिका र किशोरकिशोरीको उचाइका लागि नेपाललाई १९८ औं स्थानमा राखिएको छ।
नेदरल्याण्ड्स यो तालिकाको पहिलो नम्बरमा छ। सन् २०१९ को तथ्यांक अनुसार नेदरल्याण्ड्सका किशोरकिशोरीको औषत उचाइ १७०.४ सेन्टिमिटर उल्लेख गरिएको छ भने नेपाली किशोरकिशोरीको औषत उचाइ १५२.४ सेन्टिमिटर अंकित गरिएको छ।
सबैभन्दा अग्लो कदका किशोरकिशोरी भएको नेदरल्याण्ड्स र सबैभन्दा कम उचाइका ग्वाटेमालाका किशोरकिशोरीको औषत उचाइमा २० सेन्टिमिटर सम्मको अन्तर छ।
अन्तर्राष्ट्रिय जर्नल लान्सेटमा प्रकाशित यो अध्ययन्ले स्कूल जान योग्य बालबालिकाको उचाइमा देशहरु बीच निकै असमानता देखिन्छ। यो असमानता स्वास्थ्य र आहारको गुणस्तरका कारणले भएको बताइएको छ।
अन्य दक्षिण एसियाली देशको स्थिति पनि उति राम्रो छैन
अध्ययनका अनुसार बालबालिका र किशोरकिशोरीको उचाइका लागि भारतलाई १८२ औं स्थान दिइएको छ। भारतीय किशोरकिशोरीको औषत उचाइ १५५.२ सेन्टिमिटर उल्लेख गरिएको छ।
बांंग्लादेशले १५२.४ सेन्टिमिटर उचाइसहित १९९ औं स्थान पाएको छ। मालदिभ्स १५४.३ सेन्टिमिटरका साथ १९३ औं स्थानमा छ। पाकिस्तानको अवस्था पनि धेरै राम्रो छैन। ऊ १५४.८ सेन्टिमिटरका साथ १८६ औंं स्थानमा छ।
१५५.२ सेन्टिमिटर औसत उचाइका साथ भुटान १८३ औं स्थानमा छ भने श्रीलंका १५२.७ सेन्टिमिटरका साथ १७६ औं स्थानमा छ।
अध्ययनका अनुसार पछिल्लो ३५ वर्षको अवधिमा चीन, दक्षिण कोरिया र दक्षिण पूर्व एसियाका विकासशील अर्थतन्त्रमा बालबालिकाको उचाइमा ठूलो प्रगति भएको छ।
चीनका बालबालिकाको औषत उचाइ सन् १९८५ को तुलनामा अहिले (सन् २०१९ मा) ८ सेन्टिमिटर बढेको छ। ३५ वर्षअघि १५० औं .स्थानमा रहेको चीन अहिले ६५ औ स्थानमा पुगेको छ।