जनकपुरधाम– पटाका पड्काउँदा निस्किएको झिल्कोबाट आगलगी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ घर जलेर नष्ट भएका छन्।
पटाकाको झिल्कोले डाक्नेश्वरी– ३ तरहीको मुखिया टोलस्थित बतहीदेवी मुखियाको घरको छानो भेटेपछि भएको आगलागीमा झण्डै १५ लाख मूल्य बराबरको क्षति भएको हो।
बतहीदेवीको घरबाट सुरु भएको आगोले छिमेकी राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेशकुमार मुखियाको घरसमेत लपेट्दा घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ।
आगलागीका बाट घरसहित घरभित्र रहेको सम्पूर्ण जेथा स्वाहा भएको पीडितहरुले बताएका छन्। प्रहरीको प्रारम्भिक अनुमान अनुसार राजकुमारको मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेको छ। यसैगरी, बतही देवीको रु. ४७ हजार, रामरुपको रु. १ लाख ५० हजार, नरेशको रु. ३ लाख ५० हजार, राज मुखियाको रु. २ लाख र मुकेशको रु. २ लाख ७० हजार बराबरको धनमाल जलेको छ।
आगलागी स्थानीयवासी, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो।