काठमाडौं- यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिरबाट भित्रने सवारीसाधनलाई धोएरमात्रै भित्रिन दिन धुलाइ केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ।
काठमाडौं उपत्यकामा सवारीसाधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र सञ्चालनको योजना बनाइएको हो।
विभागले केन्द्र सञ्चालनका लागि छलफल गरिरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार गत आवमा सरकारको नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सञ्चालनको विषय समावेश थियो।
उनले भने, “गत आवमा रु दुई करोड छुट्याइएको भए पनि हामीले खर्च गर्न सकेका थिएनौं।”
सरकार आफैंले केन्द्र सञ्चालन गर्नेभन्दा पनि सरकारले अनुमति दिने र नियमन गर्ने गरी छलफल भइरहेको निर्देशक पौडेलले बताए।
निजी क्षेत्रले सरकारले तोकिएअनुसार केन्द्र सञ्चालन गर्न सक्ने गरी छलफल भइरहेको छ।
केन्द्र सञ्चालन गर्ने व्यक्तिले तोकिएको रकम लिएर सवारीसाधन धुन सक्ने गरी छलफल भइरहेको उनले जानकारी दिए।
त्यसका लागि आवश्यक मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउनेछ। उनले भने, “वास सेन्टर कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं।” रासस