शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अनुमतिबिनै नदीजन्य पदार्थ संकलन, जथाभावी उत्खनन् गर्ने सयभन्दा बढी ट्याक्टर कारवाहीमा

अनुमतिबिनै नदीजन्य पदार्थ संकलन, जथाभावी उत्खनन् गर्ने सयभन्दा बढी ट्याक्टर कारवाहीमा

कैलालीका प्रायः खोलानदीमा असोज महिनायता नियमित रुपमा अनुमतिबिना नदीजन्य पदार्थ संकलन भइरहेको स्थानीयले बताएका छन्।
 |  बिहीबार, कात्तिक २७, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

बिहीबार, कात्तिक २७, २०७७

vianetvianet

धनगढी- कैलालीका विभिन्न नदीबाट अनुमतिबिना नदीजन्य पदार्थ संकलन भइरहेकाे छ। 

triton college

कैलालीका प्रायः खोलानदीमा असोज महिनायता नियमित रुपमा अनुमतिबिना नदीजन्य पदार्थ संकलन भइरहेको स्थानीयले बताएका छन्।

कैलालीको गोदावरी नगरपालिकाले अहिलेसम्म खोलामा नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खननका लागि सम्झौता गरेको छैन। तर, स्थानीयका अनुसार खुटीया नदीमा रातिको समयमा जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन् हुँदै आएको छ।

दिउँसो नदीमा ट्याक्टरहरू नभए पनि रातिको समयमा उत्खननका लागि निर्धारित क्षेत्रभन्दा माथिबाट नदीजन्य पदार्थ संकलन हुँदै गएको स्थानीय धना कामीले बताइन्। 'ट्याक्टरहरूले राति निषेधित क्षेत्रबाट ढुङ्गा भरेर सडक छेउमा जम्मा गर्ने गर्छन्,' उनले भनिन्, 'राती खोलाबाट नदीजन्य पदार्थ स्थानीयकै सहयोगमा संकलन गरिन्छ र त्यहाँबाट ट्याक्टरबाट बोकेर सडकमा ल्याएर थुप्रो लगाउँछन्।'

खुटिया नदीमा बन्द्रागाढाभन्दा माथि उत्खनन् गर्न नपाइने प्रावधान छ। स्थानीयका अनुसार अहिले बन्द्रागाढा भन्दा माथि नै पुगेर नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ। विगत लामो समयदेखि सोही नदीमा गिट्टी कुटेर बसेका कमला चौधरीले भनिन्, 'अहिले खोलामा ढुङ्गा पाउनै मुस्किल छ। तलतल नदीजन्य पदार्थ पाउन छोडेपछि ट्याक्टरहरू हाटखोली, बन्द्रागाढाभन्दा माथि पुगेर संकलन गरिरहेका छन्।'

National life insurance

गोदावरी नगरपालिकाले पनि अहिले खुटिया नदीमा जथाभावी उत्खनन् बढिरहेको स्वीकार गरेको छ। नगरपालिकाका आन्तरिक लेखा परीक्षक शाखाका राजेशप्रसाद जोशीले भने, 'अहिले खुटिया नदीमा रातिको समयमा उत्खनन् भइरहेको जानकारी आएको छ। हामीले नियन्त्रणका लागि बिहान र साँझ टोली परिचालन गरिरहेका छौं। रातिको समयमा हुने उत्खनन् भने नियन्त्रण गर्न चुनौती छ।'

उनले अहिले जथाभावी उत्खनन् गर्ने एक सयभन्दा बढी ट्याक्टरलाई कारबाही गरिसकिएको बताए। जोशीले भने, 'अहिले नदीखोलाको ठेक्का भइनसकेकोले उत्खनन् गर्ने ट्याक्टरहरूलाई नियन्त्रणमा लिई जरिवाना असुल गरिरहेका छौं।'

उनका अनुसार प्रतिट्याक्टर पहिलो पटक तीन हजार रुपैयाँ र दोहोरिएमा थप एक हजार रुपैयाँ थप्दै जरिवाना असुल गर्ने गरिएको छ। उनले भने, 'अहिलेसम्म दोस्रो पटकसम्म ट्याक्टरहरूले उत्खनन् गरेका कारण कारबाहीमा परेका छन्। ती ट्याक्टरहरूबाट नगरपालिकाले पाँच लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको छ।'

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले नगरपालिकाले तीन वटा खोलामा नदीजन्य पदार्थ उत्खनन् गराउने गरी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेर विद्युतीय बोलपत्र आह्वान गरेको बताए।

उनले भने, 'खुटीया नदीका लागि कसैको पनि आवेदन परेन। त्यसैले त्यसको पुनः बोलपत्र आह्वान गरेका छौं। गोदावरी र खैराना खोलाको ठेक्का मूल्यांकन तयारीमा रहेको छ।'

गोदावरी नगरपालिकाले खुटीया नदीमा चार करोड ८० लाख रुपैयाँ, खैराना खोलाको ८५ लाख रुपैयाँ र गोदावरी खोलाका लागि ५५ लाख रुपैयाँ न्यूनतम रकम तोकेर विद्युतीय बोलपत्र आह्वान गरेको थियो।

गत आर्थिक वर्ष २०७६-०७७ मा गोदावरी नगरपालिकाले खुटीया नदीमा आठ करोड रुपैयाँ, खैराना खोलामा एक करोड ५० लाख रुपैयाँ र गोदावरी नदीमा एक करोड ८१ लाख रुपैयाँमा उत्खनन् गराउने ठेक्का सम्झौता गरेको थियो।

प्रकाशित: Nov 12, 2020| 07:28 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।