विराटनगर- कोरोना संक्रमणबाट मोरङमा थप पाँच जनाको मृत्यु भएको छ।
तीन जनाको नोबेल अस्पताल, एक जनाको विराट मेडिकल कलेज बुढीगंगामा र एक जनाको होम आइसोलेसमा मृत्यु भएको हो।
झापाको गौरादह २ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजेतिर ज्यान गएको हो। कात्तिक ४ गते उनलाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको प्रवन्धक नारायण दाहालले बताए।
सुनसरीको इटहरी ३ की ४० वर्षीया महिलाको बिहान सवा ८ बजेतिर मृत्यु भएको छ। दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
मोरङको रंगेली नगरपालिका ८ का ५५ वर्षीय पुरुषको बिहान साढे ७ बजेतिर मृत्यु भएको छ।
कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा ज्यान गएको हो।
झापाको दमक ६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ।
अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान अस्पताल ल्याइएको थियो।
मोरङको उर्लाबारी ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ।
पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ।