धनगढी– गत वर्षको तुलनामा भारतबाट यो वर्ष भारतबाट निकै बढी कृत्रिम फूलमाला धनगढी भित्रिएको छ।
तिहारलाई लक्षित गरेर गत वर्षको तुलनामा यस वर्ष १४ गुणा बढी कृत्रिम फूलमाला धनगढी भित्र्याइएको छ।
कैलाली भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७७–०७८ को साउनदेखि कार्तिकसम्मको अवधिमा भारतबाट धनगढीमा एक हजार पाँच सय ७५ किलोग्राम कृत्रिम माला भित्रिएको छ।
भन्सार कार्यालयका अनुसार यो अवधिमा धनगढीमा ६ लाख ६२ हजार एक सय ८३ रुपैयाँ मुल्यको कृत्रिम फूलमाला भित्रिएको हो।
कैलाली भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले कृत्रिम फूलमाला आयातबाट तीन लाख ५३ हजार ५३ रुपैयाँ राजश्व संकलन भएको बताए।
भारतको दिल्ली, लखनऊ, बरेलीलगायतका सहरबाट धनगढीमा कृत्रिम फूलमाला आयात हुने गरेको छ।
अधिकृत डिल्लुप्रसाद शर्माले भने, ‘धनगढीमा हरेक वर्ष असोज र कात्तिक महिनामा सबैभन्दा बढि कृत्रिम फूलमाला आयात हु्ने गरेको छ।’
गत वर्ष सोही अवधिमा कैलाली भन्सार नाका हुँदै भारतबाट एक सय सात किलोग्राम कृत्रिम फूलमाला भित्रिएको थियो।
सो ६४ हजार चार सय २० रुपैयाँको कृत्रिम फूलमाला भित्रिएको थियो। जसबाट ३१ हजार छ सय ७९ रुपैयाँ राजश्व संकलन भएको थियो ।
कैलालीको त्रिनगर भन्सार नाका हुँदै गत आर्थिक वर्षमा भारतबाट आयात भएको कृत्रिम फूलमाला भन्दा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा १४ गुणा बढी आयात भइसकेको छ ।
कृत्रिम फूलमाला बाहेक धनगढीमा भारतबाट दीयो, मैनबत्ती, अगरबत्तिलगायतका सामानहरू आयात हुने गरेको छ।
कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनबत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ ।
फूलको माग बढी, उत्पादन कम
धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन।
तथ्यांक अनुसार सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशत फूलको माग बढ्ने गरेको भए पनि उत्पादन निकै न्युन छ।
नेपाल उद्योग वाणिज्य संघका वस्तुगत परिषद्का उपाध्यक्ष लोकनाथ गैरेले सुदूरपश्चिममा फूलखेतीको ठूलो सम्भावना रहेकोले स्थानीय जातका फूलहरूको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने बताए।
स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाएको भन्सार अधिकृत शर्माले बताए ।
उनले खरिद मुल्यमा २० प्रतिशत भन्सार शुल्क र खरिद मुल्यमा भन्सार शुल्क जोडेर १३ प्रतिशत मुल्य अभिबृद्धि कर (भ्याट) लिने गरेको बताए।
उनले समग्रमा कृत्रिम फूलमालाको खरिद मुल्यको ३४ दशमलव ४७ प्रतिशत राजश्व सरकारले लिने गरेको जानकारी दिए।
माटोका वस्तु पनि आयात
कैलाली भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा २७ हजार यूनिट माटाका वस्तुहरु आयात भएका छन।
४६ हजार चार सय ८३ मूल्य बराबरका माटाका वस्तुहरु आयात भएको जनाइएको छ।
यी वस्तुबाट १७ हजार आठ सय ५२ रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा ७२ हजार तीन सय ८२ यूनिट माटाका वस्तु आयात भएको थियो।
गत वर्षको तीन महिनामा दुई लाख ७८ हजार पाँच सय ८२ रुपैयाँ बराबरको माटाका वस्तु आयात भएका थिए।
यी वस्तुबाट कार्यालयले एक लाख छ हजार नौ सय ७० रुपैयाँ संकलन गरेको थियो ।
भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार यस वर्ष झिलिमिलि बत्ती भने आयात भएको छैन।
भन्सार अधिकृत शर्माले भने, ‘झिलमिलि बत्ति यस नाकाबाट आयात भएको छैन। अन्य नाकाबाट आयात भएको हुनसक्छ।’
उनका अनुसार गत वर्ष दुई हजार एक सय पाँच यूनिट झिलिमिलि बत्तिहरु आयात भएको थियो।
गत वर्ष ६० हजार चार सय ३० रुपैयाँ बराबरको झिलिमिलि बत्ति बजारमा थियो भने सोबाट कार्यालयले २१ हजार सात सय ३८ रुपैयाँ राजश्व संकलन गरेको थियो।