धनगढी– स्थानीय प्रशासनले कैलाली–कञ्चनपुरमा तिहारमा देउसी भैलीलगायतका कार्यक्रम गर्न रोक लगाएको छ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि कैलाली कञ्चनपुरमा तिहारमा भिडभाड गर्न नपाइने भएको छ।
चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिने हुँदा स्थानीय प्रशासनले घरभित्रै सुरक्षित रुपमा पर्व मनाउन आग्रह गरेको छ।
‘सुरक्षाका मापदण्ड अपनाएर तिहार मनाउन प्रमुख जिल्ला अधिकारीले आदेश गर्नुभएको छ’, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘देउसी भैलीको कार्यक्रम गर्न रोक लगाईएको छ।’
कञ्चनपुर जिल्लामा पनि दसैंमा जारी गरिएको आदेशलाई निरन्तरता दिइएको छ। तिहारमा देउसी–भैलो खेल्ने, साथीभाइबीच जमघट हुने, मेलाको आयोजना गर्ने लगायतका क्रियाकलाप नगर्न कञ्चनपुर प्रशासनले अनुरोध गरेको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बितेका पर्वमा जस्तै तिहारमा पनि सो आदेशलाई निरन्तरता दिएको बताए।