काठमाडौं– कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोप विकास भएको विवरण माझ ‘कोशेढुंगा’ भनिएको त्यस्तो खोप भण्डारण गर्न आवश्यक पर्ने अत्यधिक चिसो तापक्रमसहितको पूर्वाधार नेपालसँग नभएका अधिकारीहरूले बताएका छन्।
अमेरिकी कम्पनीहरू फाइजर र बायोएनटेकले विकास गरेका ती खोपहरू माइनस ७० डिग्री सेल्सियसको अति चिसो तापक्रममा राख्नुपर्ने भएकाले संसारभर व्यवस्थापनजन्य चुनौतीहरू आउनसक्ने ठानिएको छ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरूले त्यस्तो तापक्रममा खोपहरू भण्डारण गर्ने व्यवस्था नेपालमा नरहेको बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
अधिकारीहरूले विभिन्न देशमा अघि बढिरहेका खोप विकासका प्रकिया र त्यसलाई नेपालमा भित्र्याउन आवश्यक पर्ने श्रोत साधन सहितका विषयमा सरकारले आन्तरिक अध्ययन अघि बढाएको जानकारी दिएका छन्।
खोपको प्रगतिले उत्साहित भए पनि भण्डारण गर्ने क्षमता नहुँदा खोपको विकास भए पनि त्यसबाट लाभ लिन समय लाग्ने देखिन्छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक गौतमले खोपमा भएको पछिल्लो प्रगति शुभ समाचार भएपनि देशभित्रका स्वास्थ्य पूर्वाधारका कारण त्यसबाट नेपाललाई तत्कालै लाभ हुन नसक्ने बताउँछन्।
उनले भने, ‘यसमा एकदमै चिसो तापक्रमको प्रणाली कायम गरी खोपहरू राख्नुपर्ने देखिन्छ। अहिले हामीसँग त्यसको पूर्वाधार नै छैन। त्यसबाहेक यो अध्ययनको सम्पूर्ण तथ्यांकहरू पनि बाहिर आइसकेको छैन। हामी अरू १० वटा तेश्रो चरणको क्लिनिकल ट्रायलमा रहेका खोपहरूमा के कस्तो प्रगति हुन्छ त्यो पनि हेरिरहेका छौँ।’
४३ हजार ५ सय जना मानिसमा परीक्षण गरिएको यो खोपको निर्माता कम्पनीहरूले यसै महिनाको अन्त्यसम्ममा प्रयोगका लागि आपत्कालीन अनुमति लिने प्रक्रिया अघि बढाउने बताएको बीबीसीले समाचारमा उल्लखे गरेको छ।