भैरहवा- नेकपाले प्रदेश राजधानीका विषयमा असन्तुष्ट पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ।
नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पूर्ववत पार्टी काममा फर्कन निर्देशन दिएको विभागका प्रमुख गोपाल रानाले बताए।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलगायत पार्टी
नेताहरु समेत सहभागी भेलामा असन्तुष्ट व्यवसायीले पार्टीलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए।
ती मागका बारेमा पार्टी नेतृत्व सकारात्मक भएको प्रमुख रानाले बताए ।
बुटवललाई प्रदेशको स्थायी राजधानी कायम नगरिएपछि नेकपा निकट २२ सय ४९ जना उद्योगी व्यवसायीले पत्रकार सम्मेलन गरी सामूहिक असन्तुष्टि जनाएका थिए।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले माग सम्बोधन हुने सहमतिपछि जिम्मेवारीमा पूर्ववत रहेको बताए।
नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाब पुगोस् भनेर असन्तुष्टि जाहेर गरेकामा अन्य मागमा पार्टी सकारात्मक रहेकाले सहमति भएको बताए।
भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले रुपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरिसकेकाले
यसका लागि विकास प्रवर्धन, लगानीको आकर्षण र यस क्षेत्रको प्रशासकिय सेवा उपलब्ध गराउने गरी कानून निर्माण गरिने प्रतिबद्धता जनाएका थिए। मन्त्री गिरीले रुपन्देहीको विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए।
नेकपा रुपन्देहीका प्रचर विभाग प्रमुख मोहन चापागाईंले तत्कालीन अवस्थामा असन्तुष्टि हुनु स्वाभाविक भए पनि पार्टीको जिम्मेवारीमा फर्कनुको विकल्प नभएको बताए।