काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसन’ को केन्द्रीय हब अस्पतालका रुपमा वीर अस्पताललाई तोकेको छ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजीकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय सात अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोसी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ।
“दुर्गम क्षेत्रका चिकित्सकलाई संक्रमितको उपचार गर्न सहयोग पुर्याउन टेलिमेडिसिन सेवा सुरु गरिएको हो”, उनले भने, “ दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई उपचार गर्न कुनै समस्या भए टेलिमेडिसिनका सम्पर्क व्यक्ति (फोकल पर्सन) चिकित्सकलाई फोन, एसएमएस र इमेलमार्फत परामर्श लिनसक्ने छन्।”
मन्त्रालयले केन्द्रमा एक र सातवटै प्रदेशमा सात अस्पतालका चिकित्सकलाई टेलिमेडिसिनको फोकल पर्सन तोकेको छ। उनका अनुसार ती अस्पतालका १६ चिकित्सलाई परामर्शका लागि फोकल पर्सन तोकिएको हो।
प्रदेशभित्रका अस्पतालका चिकित्सकले प्रदेशस्तरीय अस्पतालका फोकल पर्सन तोकिएका चिकित्सकसँग र प्रदेशस्तरका चिकित्सकले टेलिमेडिसिनको केन्द्रीय हब अस्पताल वीर अस्पतालसँग परामर्श गर्नेछन्। रासस