काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभामा विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका छन्। उनी केहीबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं फर्किएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए।
प्रधानमन्त्री ओलीले ओली किमाथांकामा सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण र अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन गरेका छन्।
उनले त्यहाँ किमाथांका भएर हुन सक्ने अन्तरदेशीय व्यापारको सम्भाव्यता, त्यहाँको विकास निर्माणका बारेमा समेत जानकारी लिएका छन्।
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) को किमाथांकामा निर्माणाधीन भवनको अवलोकन पनि गरेका छन्।
गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली त्यसयता पहिलोपटक उपत्यकाबाहिरको कार्यक्रममा सहभागी भएका हुन्।
प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी थिए।